काठमाडौँ । भारतको जम्मु कश्मीरको पहलगाममा आतंकवादी हमलामा परी एक नेपालीसहित २७ जनाको ज्यान गएको छ ।
मृतक नेपाली बुटलका सुदीप न्यौपाने रहेको खुलेको छ । भारतीय सञ्चारमाध्यमहरूले सार्वजनिक गरेको सूचीमा उनको घर रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका रहेको उल्लेख छ ।
त्यस्तै आतंकवादी हमलाबाट उनकी आमा पनि घाइते भएकी छन् । घाइते रेनु पाण्डेको अवस्था स्थिर रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
घटनाबारे थप जानकारीका लागि परराष्ट्र मन्त्रालय सम्पर्कमै रहेको परराष्ट्रमन्त्री देउवाले उल्लेख गरेकी छन् ।
मारिनेमा २२ जना भारतीय पर्यटक, दुई जना स्थानीय नागरिक र दुई जना विदेशी नागरिक (एक नेपाली र एक युएईका नागरिक) रहेका छन् । थप ३६ जना घाइते भएका छन् ।
कश्मीरको सबैभन्दा सुन्दर पर्यटकीय स्थल पहलगाममा मंगलबार भएको बर्बर आक्रमणका कारण अहिले उक्त क्षेत्रमा आतंक फैलिएको छ।
२७ जनाको ज्यान जाने गरी आतंकवादी हमलापछि पहलगाममा यतिबेला सन्नाटा छाएको छ।
चराहरूको चिरबिर र पर्यटकहरूको चहलपहलले गुञ्जिरहने पहलगाम बुधबार सुनसान देखिएको हो।
नेपालले पनि उक्त आतंकवादी हमलाको कडा शब्दमा निन्दा गर्दै भारतप्रति ऐक्यबद्धता जनाएको छ।
जम्मु-कश्मीरमा भएको आतंकवादी हमलापछि भारतको राजधानी दिल्लीमा पनि सुरक्षा व्यवस्था कडा पारिएको छ।

