याङ्गुन । गत महिनाको विनाशकारी भूकम्पपछि म्यान्मारमा घोषणा गरिएको युद्धविराम समाप्त हुने क्रममा छ यद्यपि सहायता समूह र अन्तर्राष्ट्रिय मध्यस्थकर्ताले राहतप्रयासलाई सहज बनाउन यसको विस्तारका लागि आह्वान गरेका छन् ।
सैन्य जुन्ताले सात दशमलव सात म्याग्निच्युडको भूकम्पपछि आफ्ना असङ्ख्य सशस्त्र विरोधीमाथि आक्रमण गर्न रोक्ने घोषणा गरेको थियो ।
भूकम्पमा परी तीन हजार सात सयभन्दा बढीको मृत्यु भएको छ । जुन्ताले सन् २०२१ को कूमार्फत सत्ताकब्जा गरी बहुपक्षीय गृहयुद्ध सुरु गरेको थियो ।
द्वन्द्व अनुगमनकर्ता र लडाइँक्षेत्रका बासिन्दाका अनुसार म्यान्मारको मध्यभागमा सहायता वितरणलाई प्रोत्साहित गर्न घोषणा गरिएको २० दिने युद्धविरामको अवधिमा दुवै पक्षबाट लडाइँ जारी रहेको छ । युद्धविराम मध्यरातमा (१७३० जिएमटी) समाप्त हुँदैछ ।
मङ्गलबार बिहान राज्य सञ्चारमाध्यमले युद्धविरामको विस्तारका बारेमा कुनै जानकारी दिएको छैन र एएफपीले जुन्ताका प्रवक्तासँग तत्काल सम्पर्क गर्न सकेको छैन ।
संयुक्त राष्ट्र सङ्घका अनुसार मार्च २८ को भूकम्पले ६० हजारभन्दा बढी मानिसलाई पाल शिविरमा बस्न बाध्य पारेको छ र २० लाख मानिसलाई ‘सहायता र सुरक्षाको गम्भीर आवश्यकता’ मा धकेलेको छ ।
निरन्तर लडाइँका बावजुद मानवीय समूह र क्षेत्रीय शक्तिले सहायता प्रयास चौथो हप्तामा प्रवेश गर्दा युद्धविरामलाई लम्ब्याउन आह्वान गरेका छन् ।
बिहीबार जुन्ता प्रमुख मिन अङ्ग ह्लाइङ्ग १० देशको आसियान ब्लकका अध्यक्ष मलेसियाली प्रधानमन्त्री अनवर इब्राहिमसँग दुर्लभ पर्दापछाडिको वार्ताका लागि बैङ्कक प्रस्थान गर्नुभएको छ ।
दक्षिणपूर्वी एसियाली राष्ट्रको सङ्घ (आसियान) को अध्यक्षता गरिरहेको मलेसियाका प्रधानमन्त्री अनवरले म्यान्माको विपक्षी ‘राष्ट्रिय एकता सरकार’ सँग पनि कुरा गरेको र उक्त समूहले भूकम्पपछि त्यस्तै युद्धविरामको वाचा गरेको बताउनुभयो ।
बैठकपछि पत्रकारलाई अनवरले भन्नुभयो– “दुवै पक्षले लडाइँको विस्तारलाई रोक्न आवश्यक सबै कुरा गर्ने सहमति जनाएका छन् । (रासस/एएफपी)