लन्डन । युरोपको अति व्यस्तमध्येको एक हिथ्रो विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आएको विमानस्थल प्रशासनले बताएको छ ।
विमानस्थलको सेवा बन्द भई यात्रामा समस्या उत्पन्न भएको एक दिनपछि शनिबार हिथ्रो विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आएको विमानस्थलका प्रवक्ताले बताउनुभयो ।
विमानस्थलको विद्युत् सबस्टेसनमा आगलागी हुँदा शुक्रबार अधिकांश समय लन्डन विमानस्थल बन्द भएको थियो भने साँझपछि आंशिक रूपमा उडान सेवा सञ्चालनमा आएका थिए ।
‘हिथ्रो विमानस्थल आज पूर्ण रूपमा खुला भई पुनः सञ्चालनमा आएको छ’ उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘विमानस्थलभरिका टोलीले अफ–एयरपोर्ट पावर सबस्टेसनमा हिजोको आगलागी र विद्युत् कटौतीका कारण प्रभावित यात्रुलाई सहयोग गर्न सक्दो प्रयास जारी राखेका छन् ।’
फ्लाइटराडार २४ ट्रयाकिङ वेबसाइटका अनुसार शुक्रबारको बन्दका कारण करिब एक हजार ३५० उडान प्रभावित भएका छन् ।
हरेक दिन करिब दुई लाख ३० हजार यात्रुले हिथ्रो विमानस्थलको प्रयोग गर्छन् । विमानस्थलले वार्षिक आठ करोड ३० लाख यात्रीलाई सेवा दिन्छ । हिथ्रो विमानस्थलबाट करिब ८० देशमा उडान हुँदै आएको छ । (रासस/एएफपी)