वासिङ्टन । ह्वाइट हाउसले इरानमाथि दबाब बढाउँदा अमेरिकाले बिहीबार हुथीसम्बद्ध जहाजबाट ५० करोड डलर बराबरको इरानी तेल खरिद गर्ने चीनस्थित एक तेल प्रशोधन केन्द्रमाथि प्रतिबन्ध लगाएको छ ।
अमेरिकी अर्थ मन्त्रालयले एक बयानमा करिब आधा अर्ब डलर मूल्यको इरानी तेल खरिद गरेको चीनको सान्डोङ प्रान्तमा रहेको एक चिपट रिफाइनरीमाथि प्रतिबन्ध लगाउन गइरहेको घोषणा गरेको छ ।
टिपट रिफाइनरीहरू चीनमा साना, निजी स्वामित्वका सञ्चालक हुन् र यिनीहरू देशमा ठुला राज्यस्वामित्वका उद्यमको विपरीत खडा छन् ।
बेइजिङले शुक्रबार अमेरिकालाई चीन र इरानबिचको सामान्य व्यापार र आर्थिक सहयोगलाई कमजोर बनाएको आरोप लगाउँदै प्रतिक्रिया दिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यालयमा फर्केपछि इरान विरुद्ध अधिकतम दबाब को अभियान पुनःस्थापित गर्नुभएको छ र पहिले नै इरानका तेलमन्त्री सहित धेरै व्यक्ति र संस्था विरुद्ध प्रतिबन्ध लागु गरिसक्नुभएको छ ।
अर्थ मन्त्रालयका अनुसार हुथीसँग सम्बन्धित जहाज र इरानी सशस्त्र बल लजिस्टिक्स, एमओडिएएफएलसहित इरानको ट्याङ्करहरूको छायाँ फ्लिटद्वारा विचाराधीन तेल ढुवानी गरिएको थियो ।
मन्त्रालयले रिफाइनरी आपूर्ति गर्ने जिम्मेवार थप १९ ओटा जहाज र कम्पनीमाथि पनि प्रतिबन्ध लगाएको छ ।
‘टिपट रिफाइनरीको इरानी तेल खरिदले इरानी शासनका लागि प्राथमिक आर्थिक जीवनरेखा प्रदान गर्दछ । इरान आतङ्कको प्रमुख राज्य प्रायोजक हो’ अर्थमन्त्री स्कट बेसेन्टले भन्नुभयो ।
अमेरिकी विदेश मन्त्रालयले बिहीबार चिनियाँ तेल टर्मिनलमाथि आफ्नै प्रतिबन्धको घोषणा गरेको छ ।
“चीनसहित इरानको तेल निर्यात शून्यमा पुऱ्याउन राष्ट्रपति ट्रम्पको अधिकतम दबाब अभियानको अनुसरणमा यी प्रतिबन्ध लगाइएका हुन्” विदेश मन्त्रालयका प्रवक्ता टेमी ब्रुसले विज्ञप्तिमा भन्नुभयो– “चीन अहिलेसम्म इरानी तेलको सबैभन्दा ठुलो आयातकर्ता हो ।”
उहाँले तेहरानले यी तेल आम्दानीलाई अमेरिकी सहयोगी विरुद्ध वित्तीय आक्रमण गर्न र विश्वभरि आतङ्कवादलाई समर्थन गर्न प्रयोग गरेको बताउनुभयो ।
शुक्रबारका कदमबारे सोधिएको प्रश्नमा चीनको विदेश मन्त्रालयले बेइजिङले सधैँ अवैध एकपक्षीय प्रतिबन्ध र लामो अधिकार क्षेत्रको दुरुपयोगको विरोध गरेको बताएको छ ।
‘चिनियाँ उद्यमको वैध अधिकार र हितको दृढतापूर्वक रक्षा गर्न चीनले सबै आवश्यक उपाय लिनेछ’ मन्त्रालयको प्रवक्ता माओ निङले नियमित पत्रकार सम्मेलनमा भन्नुभयो । (रासस/एएफपी)