किएभ । युक्रेनले बुधबार रुसमाथि अमेरिका–समर्थित युद्धविराम प्रस्ताव प्रभावकारी रूपमा अस्वीकार गरेको आरोप लगाएको छ ।
युक्रेनले ऊर्जा ग्रिडमा आक्रमण रोक्न मात्र सहमत भएको केही घण्टापछि मस्कोले नागरिक पूर्वाधारमा आक्रमणको रिपोर्ट गर्दै उक्त आरोप लगाएको हो ।
ट्रम्प र पुटिनले कुरा गरेको केही घण्टापछि नै युक्रेनमा विस्फोट भयो र हवाई आक्रमणको साइरन बज्यो ।
‘सुमीको एक अस्पतालसहित विशेष गरी नागरिक पूर्वाधारमा आक्रमण भएका छन्’ जेलेन्स्कीले भन्नुभयो– ‘रुसले रातको समयमा गरेका यस्ता आक्रमणले हाम्रो ऊर्जा क्षेत्र, हाम्रो पूर्वाधार र युक्रेनीको सामान्य जीवनलाई ध्वस्त पार्छ । आज पुटिनले पूर्ण युद्धविरामको प्रस्तावलाई प्रभावकारी रूपमा अस्वीकार गर्नुभयो ।’
सीमापार रुसी आपतकालीन सेवाका अधिकारीले युक्रेनी ड्रोन आक्रमणको भग्नावशेषले काभकाज्स्काया गाउँको एक तेल डिपोमा आगो लागेको बताए ।
किएभमा युद्धथकित युक्रेनीहरू कुनै पनि युद्धविरामको सम्भावनाबारे शङ्कालु थिए ।
‘म पुटिनलाई बिल्कुल विश्वास गर्दिनँ, एउटा शब्द पनि । उहाँले केवल बल बुझ्नुहुन्छ’ ३२ वर्षीय लेभ सोलोडकोले भन्नुभयो ।
वासिङ्टनले तीन वर्ष पुरानो युद्धको व्यापक समाधानतर्फको पहिलो कदमका रूपमा पूर्ण ३० दिनको युद्धविरामका लागि दबाब दिइरहेको छ तर मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको ९० मिनेटको कुराकानीमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यस्तो कुनै सम्झौता पश्चिमले युक्रेनका लागि सबै सैन्य सहायता रोक्नेमा निर्भर रहने कुरामा जोड दिँदै अस्वीकार गर्नुभयो ।
क्रेमलिनका अनुसार पुटिनले आफ्नो सेनालाई ३० दिनका लागि युक्रेनी ऊर्जा लक्ष्य विरुद्धको आक्रमण रोक्न आदेश दिनुभएको छ ।
बहुप्रतीक्षित पुटिन–ट्रम्प कुराकानीबाट रुस र युक्रेनले बुधबार प्रत्येक एक सय ७५ कैदी आदानप्रदान गर्ने घोषणा पनि गरेका थिए ।
युक्रेनी जेलेन्स्कीले प्रस्तावित ऊर्जा युद्धविरामलाई स्वागत गरे पनि वासिङ्टनबाट थप विवरण चाहिएको बताउनुभयो ।
अमेरिकी राजदूत स्टिभ विटकफले आइतबार जेद्दामा युद्धविराम वार्ता फेरि सुरु हुने र अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व विदेशमन्त्री मार्को रुबियो र राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले गर्ने बताउनुभएको छ । (रासस/एएफपी)