तेलअभिभ । इजरायलले आइतबार गाजापट्टीमा सबै सामान र आपूर्तिको प्रवेश रोकेको छ र हमासले नाजुक युद्धविरामको पहिलो चरणको विस्तारका लागि नयाँ प्रस्ताव स्वीकार नगरे थप परिणामको चेतावनी दिएको छ ।
हमासले इजरायललाई युद्धविराम भत्काउने प्रयास गरेको आरोप लगाउँदै सहायता रोक्ने उसको निर्णय सस्तो ‘जबरजस्ती, युद्ध अपराध र (युद्धविराम) सम्झौतामा स्पष्ट आक्रमण हो’ भनेको छ । दुवै पक्षले युद्धविराम समाप्त भएको भनेका छैनन् ।
मानवीय सहायतामा वृद्धिसहितको युद्धविरामको पहिलो चरण शनिबार समाप्त भएको थियो । दुवै पक्षले अझै दोस्रो चरणको वार्ता गरेका छैनन् । दोस्रो चरणको वार्तामा हमासले इजरायली फिर्ता र दीर्घकालीन युद्धविरामको बदलामा बाँकी रहेका दर्जनौँ बन्धक रिहा गर्ने थियो ।
एक इजरायली अधिकारीले नियमअनुसार नाम नछाप्ने सर्तमा सहायता निलम्बन गर्ने निर्णय ट्रम्प प्रशासनसँगको समन्वयमा गरिएको बताए ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले यसले अप्रिल २० मा समाप्त हुने रमजान र निस्तारपर्वको माध्यमबाट युद्धविरामको
पहिलो चरण विस्तार गर्ने अमेरिकी मध्यपूर्वका दूत स्टिभ विट्कोफबाट आएको भनी वर्णन गरिएको प्रस्तावलाई समर्थन गर्दछ भनेको थियो ।
नेतन्याहुको कार्यालयका अनुसार उक्त प्रस्तावअन्तर्गत हमासले पहिलो दिनमा आधा बन्धक र स्थायी युद्धविराममा सम्झौता पुगेपछि बाँकी रिहा गर्नेछ ।
एक वर्षभन्दा बढी समयदेखि इजरायल र हमासबिच मध्यस्थता गरिरहेका अमेरिका, इजिप्ट वा कतारबाट तत्काल कुनै टिप्पणी आएको छैन ।
युद्धविरामको पहिलो छ हप्ताको चरणअन्तर्गत हमासले इजरायलद्वारा बन्दी बनाइएका लगभग दुई हजार प्यालेस्टिनीको रिहाइको बदलामा २५ इजरायली बन्धक र अन्य आठ जनाको शव रिहा गरेको थियो । इजरायली सेना गाजाको अधिकांश भागबाट पछि हटे र इजरायलले मानवीय सहायताको वृद्धिलाई प्रवेश गर्न अनुमति दियो तर पहिलो चरण बारम्बार विवादले बिग्रिएको थियो । प्रत्येक पक्षले अर्कोलाई उल्लङ्घनको आरोप लगाएको थियो । इजरायली आक्रमणले दर्जनौँ प्यालेस्टिनीको ज्यान लियो । यसलाई सेनाले आफ्नो सेनामा पुगेको वा केही क्षेत्रमा प्रवेश गरेको भन्दै युद्धविरामको उल्लङ्घन गरेको बताएको छ ।
हमासले इजरायलको सहायता निलम्बन अर्को उल्लङ्घन भएको भन्दै सम्झौताको दोस्रो चरणमा पक्षले वार्ता गर्दा वितरण जारी राख्नुपर्ने बताएको छ । (रासस/एपी)