अघाखाँची । राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश सल्लाहकार शेरबहादुर बिसीले राष्ट्रिय एकता र स्वाधिनतालाई बलियो बनाउन संघीयताको खारेजी आवश्यक भएको बताउनुभएको छ ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७, फुदबाङमा राष्ट्रिय जनमोर्चा सन्धिखर्क नगर समितिले आयोजना गरेको संघीयताविरुद्धको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
संघीयताले देशको राजनीतिक स्थायित्व र आर्थिक विकासमा पुर्याएको असरबारे छलफल गर्न सो कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रमका प्रमुख वक्ता बिसीले संघीयताको असफलता र यसले देशमा पुर्याएको नकारात्मक प्रभावबारे प्रकाश पार्दै भन्नुभयो, ‘राष्ट्रिय एकता र स्वाधीनतालाई बलियो बनाउन संघीयताको खारेजी आवश्यक छ।’
अखिल नेपाल महिला संघकी केन्द्रीय उपाध्यक्ष कल्पना पोखरेलले महिलाको सशक्तिकरण र समानताको मुद्दामा जोड दिँदै संघीयता विभाजनकारी भएको उल्लेख गर्नुभयो ।
यस्तै, नेकपा मसालका जिल्ला प्रवक्ता पशुपति ढकालले संघीयताको असफलता र यसले ल्याएको अराजकताबारे चर्चा गर्दै यसलाई खारेज गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
राष्ट्रिय जनमोर्चाका जिल्ला उपाध्यक्ष गोपाल पौडेलले संघीयताले जनताको समस्याको समाधान नगरेको भन्दै यसको खारेजीका लागि सबैलाई संगठित हुन आह्वान गर्नुभयो ।
कार्यक्रममा अखिल नेपाल ट्रेड युनियनका केन्द्रीय उपाध्यक्ष गोबिन्द बिसी, रक्तिम सांस्कृतिक अभियानका जिल्ला सदस्य सन्तोष सुनार, अखिल नेपाल युवक संघका जिल्ला कोषाध्यक्ष भूपाल बिसी, जातीय समता समाजका प्रतिनिधि गोपाल नेपाली, अखिल नेपाल महिला संघ नगर अध्यक्ष मिना बिसी, र प्रगतिशील पत्रकार संघ नेपालका प्रतिनिधि मेहर सिंह केसीको उपस्थिति रहेको थियो।
राजमो सन्धिखर्क नगर समितिका अध्यक्षता दिलदार हुसेनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत पुनबहादुर नेपाली र सञ्चालन वसन्त खड्काले गर्नुभएको थियो ।
राष्ट्रिय जनमोर्चाले आउँदो चैत २४ देखि ३० गतेसम्म संघीयता विरुद्ध राजधानी केन्द्रित आन्दोलन गर्दै छ। उक्त कार्रायक्ष्ट्रीरमका लागि राजमो अर्घाखाँचीले जिल्लाब्यापी प्रचारात्मक अभियान सञ्चालन गरिरहेको छ।