काठमाडौं । सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछाने पक्राउको विरोधको स्वरूप हेरफेरबारे छलफल गर्न बसेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बैठक अनिर्णित बनेको छ ।
सभापति लामिछानेलाई प्रहरीले पक्राउ गरेर पोखरा लगेपछि पोखरामै प्रदर्शन गर्दै आएको रास्वपाले शुक्रबार काठमाडौँमा प्रदर्शन गरेको थियो।
तर, काठमाडौं केन्द्रित आन्दोलनबारे रास्वपामा अलमल देखिएको हो ।
शुक्रबार पार्टीको केन्द्रीय कार्यालय, वनस्थलीमा बसेको बैठकले प्रदर्शन जारी राख्ने निर्णय गरेको तर स्वरूप निर्धारणबारे भोलि फेरि छलफल गरिने कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए।
‘राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिले राजनीतिक प्रतिशोध साधेर राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति पक्राउ गरिएको र सत्तापक्षले सहकारी पीडितलाई न्याय दिने आवश्यक कदमको सट्टा अन्यतिरै अल्झिएर बसेको अवस्थामा सहकारी पीडितलाई न्याय दिने र रकम फिर्ता गर्न विरोध प्रदर्शनको आगामी कार्यक्रमको स्वरूपबारे छलफल गर्न अनौपचारिक बैठक जारी नै छ’ झाले भने, ‘तर आन्दोलन स्थगनबारे कुनै छलफल वा निर्णय भएको छैन।’
अदालतको आदेशमा फौजदारी कसुरको अनुसन्धानको प्रक्रिया अघि बढिरहेका बेला सडकबाट दबाब दिन खोजेको भनेर रास्वपाको आलोचना पनि भइरहेको छ।
रविविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा चलाउने तयारी छ।
कास्कीको सूर्यदर्शन सहकारीपछि बुटवलको सुप्रिम सहकारीको ठगी प्रकरणमा पनि रविमाथि अनुसन्धान अघि बढाउन प्रहरीले प्रक्रिया अघि बढाएको छ।
गत शुक्रबार काठमाडौँमा पक्राउ परेका लामिछानेलाई हिजो (बिहीबार) कास्की जिल्ला अदालतले दोस्रोपटक म्याद थप गरी अर्को ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ।