काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संस्थागत विद्यालयहरुलाई विद्यार्थीबाट एक महिनाको शुल्क नलिन निर्देशन जारी गरेको छ । सोमबार एक सूचना प्रकाशित गरी मन्त्रालयले लकडाउनको अवस्थामा आवास शुल्क बाहेक कुनै पनि शुल्क नलिन निर्देशन दिएको हो ।
यस्तै, मन्त्रालयले लकडाउनको अवस्थामा विद्यार्थीहरुसँग भर्ना, अनलाइन कक्षा वा कुनै पनि बहानामा शुल्क नउठान पनि विद्यालयहरुलाई निर्देशन दिएको छ ।
सोमबार प्रकाशित सूचनामा ‘सरकारबाट अर्को निर्णय नभएसम्म कुनै पनि विद्यालयको कुनै पनि तहमा भर्ना नगर्नु, नगराउनु हुनका साथै भर्नाका नाममा कुनै पनि किसिमले शुल्क लिने, वा बैंक खातामा रकम जम्मा गर्न लगाउने जस्ता कार्यहरु नगर्नु, नगराउनुहुन’ भनिएको छ ।
यस्तै, शिक्षा मन्त्रालयले एसईई परीक्षा तथा कक्षा ११ र १२ को परीक्षा लिने सम्बन्धमा शुक्ष्म अध्ययन भइरहेको र हालसम्म कुनै निर्णय नभएको पनि स्पष्ट पारेको छ ।
