काठमाडौं । सत्ता समीकरण परिवर्तन भएलगत्तै सक्रियता बढाएको भारतीय पक्षले नयाँ सरकारका मन्त्रीहरूसँग भेटघाट तीब्र पारेको छ ।
प्रधानमन्त्रीसहित मन्त्रीहरूले शपथ खाएलगत्तै भारतका राजदूत नविन श्रीवास्तवले मन्त्रीहरूसँग भेटघाटलाई तिब्रता दिएका छन् ।
राजदूत श्रीवास्तवमा दुई दिनमा चारजना मन्त्रीसँग भेटघाट गरेका हुन् ।
उनले मंगलबार उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह र परराष्ट्रमन्त्री आरजु राणा देउवालाई भेटेर बधाई दिएका थिए ।
बुधबार (आज) उनले गृहमन्त्री रमेश लेखक र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग भेटवार्ता गरेका छन् ।
गृहमन्त्री रमेश लेखकसँग भएको भेटमा कोरोना महामारीपछि भारतीय सीमानाकाबाट नेपाल प्रवेश गर्ने तेस्रो मुलुकका नागरिकलाई अध्यागमन सेवामा गरिएको अवरोध हटाएर पूर्ववत् अवस्थामा फर्काउन र सीमा व्यवस्थापन तथा सीमा क्षेत्रमा हुने अपराधमा देखिएका चुनौती समाधान गर्न निकायगत समन्वय गर्दै जाने विषयमा सकारात्मक छलफल भएको मन्त्री लेखकको निजी सचिवालयले जनाएको छ। यस्तै भारतीय लगानीमा नेपालमा सञ्चालन भइरहेका आयोजनालाई निर्धारित समयमा सम्पन्न गर्न दुवै पक्ष आपसी समन्वय र समझदारीका साथ अगाडि बढ्नेबारेमा पनि उनीहरूबीच छलफल भएको थियो।

गृहमन्त्री रमेश लेखकसँग बुधबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता गर्दै नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्तव । तस्बिर : गृहमन्त्रीको सचिवालय/रासस
त्यस अवसरमा राजदूत श्रीवास्तवले नवनियुक्त मन्त्री लेखकलाई बधाई ज्ञापन गर्दै नेपालमा देखिएका प्राकृतिक प्रकोपलगायत समस्या समाधान गर्न भारत सरकार आवश्यक सहयोग र सहकार्य गर्न तयार रहेको बताए।
गत शुक्रबार चितवनको सिमलताल पहिरोमा परी बससहित बेपत्ता भएका यात्रुको खोजीकार्यमा सहयोगका लागि अत्याधुनिक प्रविधिसहित आवश्यक सहायता उपलब्ध गराउन भारत सरकार सकारात्मक रहेको राजदूत श्रीवास्तवले जानकारी गराएका गृहमन्त्री लेखको सचिवालयले जनाएको छ।
गत असार ३० गते नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएर असार ३१ गते प्रधानमन्त्रीसहित २२ जना मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएलगत्तै भारतीय पक्षले निकै सक्रियता बढाएको छ ।
ओली प्रधानमन्त्री नियुक्त भएकै दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका थिए भने सोही दिन भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालकी नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणा देउवालाई बधाई दिए ।





