काठमाडौं । गत असार २८ गते (शुक्रबार) तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट विश्वास गुमाए । त्यसको दुई दिनपछि (असार ३० गते) नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भए ।
असरा ३१ गते प्रधानमन्त्रीसहित २२ जना मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ खाए । त्यसलगत्रै भारतीय पक्षले निर्क सक्रियता बढाएको छ ।
केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएलगत्तै बधाई र भेटघाटलाई तीब्रता दिएको भारतीय पक्षलाई मंगलबार पनि मन्त्रीहरूसँग भेटघाट र बधाई दिन भ्याईनभ्याई थियो ।
ओली प्रधानमन्त्री नियुक्त भएकै दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिए । सोमबार सामाजिक सञ्जाल एक्समार्फत मोदीले ओलीलाई बधाई दिएका थिए ।
नयाँ प्रधानमन्त्रीसँग दुई देशबीचको मित्रतालाई अझ सुदृडढ गर्न मिलेर काम गर्न तत्पर रहेको समेत मोदीले उल्लेख गरेका छन्।
सोही दिन भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालकी नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणा देउवालाई बधाई दिए । उनी परराष्ट्रमन्त्री नियुक्त भएलगत्तै जयशंकरले समाजिक संजाल एक्समार्फत बधाई दिएका थिए ।
बधाई सन्देश दिँदै भारतीय विदेशमन्त्री एस जयशंकरले नेपाल–भारत बहुआयामिक साझेदारीलाई अघि बढाउन नयाँ मन्त्रीसँग मिलेर काम गर्न तत्पर रहेको उल्लेख गरेका छन्।
‘नेपालको परराष्ट्रमन्त्रीका रुपमा नियुक्त हुनु भएकोमा आरजु राणा देउवालाई हार्दिक बधाई,’ उनले लेखेका छन्, ‘नेपाल–भारत बहुआयामिक साझेदारीलाई अघि बढाउन तपाईंसँग मिलेर काम गर्न तत्पर छु।’
यता, साउन १ गते (मंगलबार) भारतका राजदूत नवीन श्रीवास्तवले उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहलाइ भेटेरै बधाई दिए ।

मन्त्री सिंहको कार्यकक्षमा भएको उक्त भेटमा द्विपक्षीय हित र आपसी चासोका विविध विषयमा कुराकानी भएको मन्त्री सिंहको सचिवालयले जनाएको छ। राजदूत श्रीवास्तवले मन्त्री सिंहलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै पारस्परिक सहयोग अभिवृद्धिका निम्ति भारत सरकार तयार रहेको बताए।
मन्त्री सिंह र राजदूत श्रीवास्तवबीच सहरी विकास, नदी प्रदूषण नियन्त्रण र फोहरमैला व्यवस्थापनमा भारतले गर्न सक्ने सहयोगबारे छलफल भएको बताइएको छ । भारत सरकारको सहयोगमा नेपालमा निर्माणाधीन आयोजनाको समीक्षा पनि भएको थियो। दुई देशका सीमा क्षेत्रमा निर्माणाधीन एकीकृत भन्सार जाँच चौकीका बारेमा जानकारी आदानप्रदान पनि भएको थियो।
यसैगरी, राजदूत श्रीवास्तवले परराष्ट्रमन्त्री आरजु राणा देउवालाई पनि भेटेरै बधाई दिए । मंगलबार दिउँसो सिंहदबारस्थित मन्त्रालयमा उनीहरूबीच भेटवार्ता भएको हो।
भेटमा परराष्ट्रमन्त्री राणा र भारतीय राजदूत श्रीवास्तवका बीचमा नेपाल–भारत सम्बन्ध र सहयोगका विषयमा छलफल भएको जनाएको छ।