काठमाडौं । सरकारले विभिन्न ८ देशमा राजदूत सिफारिस गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले ८ देशका लागि राजदूत सिफारिस गरेको कानुनमन्त्री पदम गिरीले जानकारी दिए ।
मन्त्रिपरिषद्ले अमेरिकामा पूर्वसचिव चन्द्र घिमिरे, भारतमा पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी, दक्षिण कोरिया सुशील प्याकुरेललाई पठाउने निर्णय गरेको छ।
यस्तै, सुम्निमा तुलाधर डेनमार्क, विजन पन्त बेलायत, पुष्पराज रन्जितकार स्पेन, डा नेत्रप्रसाद तिम्सिना मलेसिया र अबुसुफ्यान खान मुसलमान साउदी अरबका लागि राजदूत सिफारिस भएका छन्।
घिमिरे उद्योग मन्त्रालयका पूर्वसचिव हुन् भने रेग्मी यसअघि बेलायतका राजदूत भइसकेका व्यक्ति हुन्। प्याकुरेल राष्ट्रिय मानव अधिकार आयोगका पूर्वसदस्य हुन्।
तुलाधर र डा तिम्सिना सामाजिक आन्दोलनमा सक्रिय छन्। तुलाधर २०७८ जेठमा अस्ट्रेलियाका लागि राजदूत सिफारिसमा परेकी थिइन्। उनी मानव अधिकारवादी नेता पद्मरत्न तुलाधरकी छोरी पनि हुन्। गैरसरकारी संस्था सिबिनसँग पनि आबद्ध थिइन्।
यस्तै, मन्त्रिपरिषदले मन्त्रिपरिषद् बैठकले विभिन्न व्यक्तिलाई अवैतनिक वाणिज्यदूत पदमा नियुक्त गरेको छ । बैठकले अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको कार्यक्षेत्र रहनेगरी सञ्जीवकुमार शर्मा र अष्ट्रेलियाको भिक्टोरिया राज्य कार्यक्षेत्र रहनेगरी निराजन गौलीलाई अवैतनिक वाणिज्यदूत पदमा नियुक्त गर्ने निर्णय गरेको छ ।
बैठकले विश्व बैङ्कबाट उपलब्ध हुने ८० मिलियन डलरबराबरको सहुलियत ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको कानुनमन्त्री गिरीले बताए ।
स्थानीय पूर्वाधार सहयोग कार्यक्रमअन्तर्गत कर्णाली प्रदेशमा गएको पछिल्लो भूकम्पका कारण क्षति भएका पूर्वाधार पुनःनिर्माण र पुनस्र्थापनाका लागि बेलायत सरकारबाट प्राप्त हुने थप आठ दशमलव एक मिलियन पाउण्डस्टर्लिङबराबरको अनुदान सहायता स्वीकार गर्ने पनि बैठकले निर्णय गरेको छ ।
त्यसैगरी, राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी निर्देशक पदमा डा राजेन्द्रप्रसाद यादवलाई नियुक्त गरिएको छ । प्रतिलिपि अधिकारसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णयसमेत बैठकले गरेको छ ।
त्यसैगरी मन्त्रिपरिषद् बैठकले विद्युत् नियमन आयोगको अध्यक्षमा डा रामप्रसाद धिताल र सदस्यहरुमा मधुसूदन अधिकारी र झमकप्रसाद शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ ।





