सन्धिखर्क । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिकाले बिपत् व्यवस्थापन तथा पूर्वतयारीसम्बन्धी दुईदिने युवा स्वयमसेवक परिचालन तालिम सुरु गरेको छ ।
पालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा २०८१ जेठ ३२ गते शुक्रबारदेखि सो तालिम सुरु भएको हो ।
तालिमको उद्घाटन भूमिकास्थान नगरपालिकाका नगर उपप्रमुख बालाकृष्ण बन्जाडेले गर्नुभएको थियो ।
सो अवसरमा मन्तव्य राख्दै नगर उपप्रमुख बन्जाडेले पछिल्लो समयमा युवाको विदेश जाने मोहले राष्ट्रिय भाव ह्रास हुँदै गएको बताउनुभयो ।
उहाँले युवाहरूले स्वदेशमै केही गर्न सक्छु भन्ने मनोबल लिएर मुलुकको रूपान्तरणमा आफ्नो महत्त्व बुझेर स्वदेशमै केही गर्नुपर्छ भन्ने सोच राखेर अघि बढ्न आग्रह गर्नुभयो ।
कार्यक्रममा भूमिकास्थान नगरपालिकाका प्रमख प्रशासकीय अधिकृत जगदीशचन्द्र नेपाली, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख तुवलाल सापकोटा, प्रशिक्षक लिलबहादुर विकलगायतले बोल्दै युवालाई अध्ययनसँगै सामाजिक क्षेत्रमा लाग्न र समाजमा आइपर्ने विपत्तिमा सक्रिय रूपमा लाग्न आग्रहसमेत गर्नुभएको थियो ।
शेषकान्त घिमिरे (ओसन) को सञ्चालनमा सम्पन्न भएको उक्त सत्रमा नेपाल रेडक्रस सोसाइटी अर्घाखाँचीका कार्यक्रम संयोजक राजेश पाण्डे, भूमिकास्थान नगरपालिका नगरस्तरीय युवा संजालका संयोजक टेकराज भुसाल, विभिन्न शाखाका प्रमुखको आतिथ्य रहेको थियो।
शनिबारसम्म सञ्चालन हुने सो तालिममा नगरपालिकाका दशओटै वडाबाट ५० जना युवाको उपस्थिति रहेको छ ।






