मलेखु (धादिङ) । पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिस्लिङ बजार नजिक आज बिहान दुईवटा सवारीसाधन एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् भने पाँचजनाको अवस्था गम्भीर छ ।
नेपालगञ्जबाट काठमाडौँतर्फ गइरहेको भे१ख ४०६० नम्बरको यात्रीबस त्रिशूली नदी किनारमा खसेको छ ।
काठमाडौँबाट मुग्लिनतर्फ गइरहेको बागमती प्रदेश ०२–०३९च ३७२० नम्बरको कार एकापसमा ठोक्किँदा बस नदी किनारमा खसेको हो । कारलाई जोगाउन खोज्दा बस नदी किनारमा खसेको एकजना प्रत्यक्षदर्शीले बताए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार कारमा सवार पाँचजना गम्भीर घाइते छन् । बसमा ४५ जना यात्री थिए ।
गम्भीर घाइते भएका कारमा सवार सबैलाई उपचारका लागि चितवन पठाइएको गजुरीस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

कार क्षतिग्रस्त
बससँग ठोक्किएको कार क्षतिग्रस्त भएको छ । दुर्घटनमा कारमा सवार पाँच र बसमा सबार १५ जना घाइते भएका चितवन प्रहरीले जनाएको छ।
कारमा सवार पाँच जना दुर्घटनामा गम्भीर घाइते छन्। उनीहरुमध्ये दुईजनाको परिचय खुलेको छ।
पहिचान खुल्नेमा कास्कीको पोखरा उपमहानगरपालिका( ५ का ३५ वर्षीय समीर ओझा र सोही स्थानका २२ वर्षीय शेखर मिश्र रहेका छन्।
उनीहरुको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले जनाएको छ। रासस