संखुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिका–११ आङ्लास्थित कोक्तिमा गाउँमा पहिरो जाँदा तीनवटा घर बगेका छन्। गएराति अबिरल वर्षासँगै गएको पहिरोले कोक्तिमा गाउँका तीन घर बगाएको छ भने एक जना घाइते भएका छन्।
कोक्तिमा गाउँका मणिप्रसाद राई, रामप्रसाद राई र दिलबहादुर राईको घर पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए। पहिरोमा परेर स्थानीय मणिप्रसाद राई घाइते भएका छन्।
पहिरोले घर बगाएर विस्थापित भएपछि उनीहरु छिमेकीको घरमा आश्रय लिएर बसेका संखुवासभाका निमित्त प्रहरी प्रमुख लामिछानेले बताए। पहिरोले संखुवासभाका विभिन्न ठाउँमा गरेर नौ घर विस्थापित भएका प्रहरीले जनाएको छ।
खाँदबारी–४ सेकाहाका चार घर पहिरोबाट विस्थापित भएका वडाध्यक्ष विनोद सुब्बा गुरुङले जानकारी दिए। त्यसैगरी चिचिला गाउँपालिकाको वडा नं १ र २ का पाँच घर पहिरोको उच्च जोखिममा परेका छन्।
जिल्लामा बाढी पहिरोले के–कति क्षति भयो भन्ने विवरण सङ्कलन भइरहेको प्रहरी निरीक्षक लामिछानेले बताए।
पहिरोले उत्तर–दक्षिण कोशी सडकमा समेत क्षति पुगेको छ । कालोपत्र गर्न ठिक्क पारिएको चार किलोमिटर सडकमा क्षति पुगेको उत्तरदक्षिण कोशी सडक आयोजनाले जनाएको छ । यो कोशी राजमार्गअन्तर्गत खाँदबारी किमाथाङ्का सडकखण्डमा पर्दछ।
निरन्तरको वर्षाका कारण मकालु गाउँपालिकाको नुममा पहिरो गएपछि सडक अवरुद्ध भएको छ। पहिरोका कारण करिब रु एक करोडको क्षति भएको सडक कार्यालयले जनाएको छ।
चट्याङले लागेर महिलाको मृत्यु
संखुवासभामा वर्षासँगै परेको चट्याङले लागेर एक महिलाको मृत्यु भएको छ।
चिचिला गाउँपालिका–२ आहालेमा गएराति परेको चट्याङले लागेर स्थानीय ४३ वर्षीया सावित्रा गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।
प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार राति करिब ११ बजे परेको चट्याङले लाग्दा गुरुङको घटनास्थलमै मृत्यु भएको हो। घरभित्रै सुतिरहेको बेला उनलाई चट्याङले लागेको प्रहरीले जनाएको छ।
उनको शव पोस्टमार्टमका लागि बिहीबार जिल्ला अस्पताल लगिएको छ।
रासस