काठमाडौँ । विद्यार्थी आन्दोलन हुँदै मजदुर सङ्गठनको नेतृत्व गर्नुभएका नारायण सापकोटाको आर्यघाटमा दाहसंस्कार गरिएको छ ।
ब्रेन ट्युमरबाट पीडित सापकोटाको जेठ २८ गते निधन भएपछि २०८१ जेठ २९ गते मङ्गलबार आर्यघाटस्थित विद्युतीय शवदाहगृहमा दाहसंस्कार गरिएको हो ।
सापकोटाको पार्थिव शरीरमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीका संयोजक मोहन वैद्य ‘किरण’ ले कम्युनिस्ट पार्टीको झन्डा ओढाउनुभएको थियो ।

उहाँलाई श्रद्धाञ्जली दिन नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, क्रान्तिकारी माओवादीका नेताहरू रामसिंह श्रीस, परि थापालगायत विभिन्न पार्टी तथा सङ्गठनका नेताकार्यकर्ताहरू आर्यघाट पुगेका थिए ।
दाहसंस्कारअघि रामबहादुर बुढाको सञ्चालनमा शोकसभा सम्पन्न भएको थियो ।

स्मृतिशेष सापकोटाको सङ्क्षिप्त जीवनी वाचनसँगै सुरु भएको उक्त कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टीका हेमन्तले पार्टीको तर्फबाट शोकवक्तव्य वाचन गर्नुभएको थियो ।

कार्यक्रममा सापकोटाको परिवारको तर्फबाट दाजु बेदिलाल सापकोटा र ससुरा कृष्ण पौडेलले शोकमन्तव्य राख्नुभएको थियो ।
