नेपालगञ्ज । प्रगतिशील पत्रकार सङ्घ बाँकेले क्रियाशील पत्रकारको सदस्यता बिच बाटोबाटै गायब पारिएकोमा विरोध गरेको छ ।
प्रगतिशील बाँकेका संयोजक तिलक गाउँले क्षेत्रीको हस्ताक्षरमा २०८१ जेठ २३ गते बुधबार प्रेसवक्तव्य जारी गर्दै यस्तो दाबी गरिएको हो ।
प्रेसवक्तव्यमा उस्तै प्रकृतिका अन्य पत्रकारको सदस्यता कायम राखिएको तर प्रगतिशीलका क्रियाशील पत्रकारको सदस्यता खारेज गरिएको बताइएको छ ।
त्यस्तै, नयाँ क्रियाशील पत्रकारलाई सदस्यता प्रदान गर्ने सवालमा पनि भेदभावपूर्ण रवैया अपनाइएको प्रगतिशील बाँकेको आरोप छ ।
एवम् प्रकारले स्थानान्तरण गरिएका पत्रकारको सवालमा वक्तव्यमा भनिएको छ– “महासङ्घको सदस्यता स्थानान्तरणको सवाललाई पनि नामावलीमा सम्बोधन नगरेका कारण क्रियाशील रहेका पत्रकारहरूलाई बिच बाटोबाटै गायब पारिएको अवस्था छ । स्थानान्तरणको सट्टा सदस्यता नै खारेज गर्ने तरिका अपनाइएको छ ।”
प्रगतिशील बाँकेले यी कमजोरी सच्याउन आग्रह गर्दै नसच्याइएमा सङ्घर्षको कार्यक्रम घोषणा गरिने बताएको छ ।
