दिनेश रैदास, दाङ ।
राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले देशमा वैदेशिक हस्तक्षेप डरलाग्दोगरी बढेको बताउनुभएको छ ।
राष्ट्रिय जनमोर्चा जिल्ला समिति दालेले शुक्रबार (१८ जेठमा) घोराहीमा आयोजना गरेको पत्रकार भेघाट कार्यक्रममा बोल्दै कार्यकारी अध्यक्ष नेपालीले नेपाल भारत, अमेरिकालगायत देशको प्रयोगशाला बन्ने खतरा औँल्याउनुभयो ।
उहाँले यसअघि नेपालमा चर्को भारतीय हस्तक्षेप रहेकोमा सहायताका नाममा अमेरिकी परियोजना एमसीसी स्वीकार गरेपछि अमेरिका पनि प्रत्यक्षरुपमा नेपालमा आएको बताउनुभयो ।

नेपालीले नेपालले विदेशबाट ऋण ल्याएर बजेट बनाउने गरिएको उल्लेख गर्दै त्यही बजेटको समेत सदुपयोग हुन नसकेको स्पष्ट पार्नुभयो ।
संघीयता र भ्रष्टाचारका कारण मुलुक झन् झन् खोक्रो बन्दै गइरहेको उहाँको भनाई थियो ।
भ्रष्टाचारका कारण विकास निर्माण ठूला योजना अलपत्र पारिएको भन्दै आपत्ति जनाउनुभयो ।
फरक प्रशंगमा कार्यकारी अध्यक्ष नेपालीले प्राकृतिक श्रोतसाधनको दोहन भइरहेकोले जलवायु परिवर्तनको चर्को असर देखिएको बताउनुभयो।

कार्यक्रममा राजमो दाङका अध्यक्ष गणेश आचार्यले भ्रष्टाचार र महंगीले आकाश छोएको बताउनुभयो । मिटरब्याज र छिनुवा पासका नाममा नागरिकहरुको घरबास नै उठेको भन्दै उहाँले त्यसविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको जानकारी दिनुभयो ।
यस्तै, विकास निर्माणमा भइरहेका अनियमितता, ढिलासुस्ती, किसानलाई मल बिउको व्यवस्था गर्न मागसहित संघीयताको खारेजी र भ्रष्टाचारविरुद्ध राजमोले जनपरिचालन गर्ने बताउनुभयो ।
राजमो दाङले विभिन्न स्थानीय समस्याहरु समेटेर स्थानीय तहलाई ज्ञापन पत्र बुझाउने छ । यस्तै, जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको अध्यक्ष आचार्यले बताउनुभयो ।
यसैगरी जेठ ३२ गते घोराहीमा कोणसभा गर्ने कार्यक्रम तय भएको छ ।
राजमो केन्द्रीय सदस्य तथा दाङ्ग जिल्ला अध्यक्ष गणेश आचार्यको अध्यक्षता र मनिराम खनालको सञ्चालनमा अगाडि बढेको कार्यक्रममा राजमो लुम्बिनी प्रदेश सल्लाहाकार सुरेश थापाकोसमेत अतिथ्यता रहेको थियो ।
