काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप आयोगमा ६३ हजार ७१८ वटा उजुरी परेका छन् ।
बिहीवार सिंहदरबारमा बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा आयोगका सचिव उदयराज सापकोटाले यसबारेमा जानकारी गराएका हुन् ।
उनका अनुसार एउटै घटनाको उजुरीहरु धेरै छन् । एउटा घटनाको एक हजार, १० हजार, १५ हजार पनि उजुरीहरु पनि हुनसक्ने बताए । उनले उजुरी भन्दा पनि घटनाका विषयहरुलाई हेरेर जानुपर्नेमा जोड दिए ।
उनले जिल्लाको तहमा हेर्दा सल्यानमा ५ हजार ५०२ वटा उजुरी परेको बताए । अछाम र कपिलवस्तुमा ४ हजार भन्दा बढी उजुरी परेको र ३ हजार भन्दा माथि उजुरी भएको जिल्ला एउटा र दुई हजार भन्दा माथि उजुरी भएका एउटा जिल्ला रहेको बताए ।
यस्तै, एक हजार माथि उजुरी भएका जिल्ला १३ वटा रहेको उनले बताए । उनले सामान्य प्रकृतिका उजुरीहरु बढि रहेको पनि बताए ।
अहिले २ हजार २६८ उजुरीहरु तामेलीमा राखेको र केही उजुरी पुनः जगाउन पाउँ भनेर निवेदन आएको अवस्था रहेको उनको भनाई छ ।