डोटी । संघीयता विरुद्ध काठमाडौं मार्चको तयारी गरिरहेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) ले डोटी र डडेल्धुरामा आन्दोलन परिचालन समिति बनाएको छ । दई जिल्लाको संयुक्त भेलाले छुट्टाट्टै आन्दोलन परिचालन समिति बनाएको हो ।
डोटी जिल्लाको आन्दोलन परिचालन समिति संयोजकमा अखिल (छैठौं) डोटीका अध्यक्ष हेमविक्रम चन्द हुनुहुन्छ भने डडेल्धुराको संयोजकमा अखिल (छैठौं) डडेल्धुरा जिल्ला अध्यक्ष टंक अवस्थी रहनुभएको छ । दुबै समिति ११/११ सदस्यीय छ ।
संघीयताका विरुद्ध आन्दोलनका लागि तयारी गर्न विभिन्न जिल्लामा भेला तथा बैठक सञ्चालन गरिरहेको अखिल (छैठौं) ले आइतबार डोटी र डडेल्धुराको संयुक्त भेला डोटीमा सम्पन्न गरेको हो । भेलाको उद्घाटन संगठनका अध्यक्ष विमल पोख्रेलले गर्नुभएको थियो ।
भेलालाई राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य एवं सुदूरपश्चिम इन्चार्ज मनोज भट्ट, जातीय समता समाजका महासचिव गोविन्द बिक, राजमो जिल्ला उपाध्यक्ष रमेश अवस्थी, जनजाती सम्मेलनका जिल्ला संयोजक उजीरसिंह मगर, प्रगतिशील पत्रकार संघका केन्द्रीय सदस्य नरेश आले, अखिल (छैठौं) का केन्द्रीय सदस्य एकेन्द्र कँडेललगायतका वक्ताहरुले शुभकामना दिनुभएको थियो ।

अखिल (छैठौं) डोटीका अध्यक्ष एवं सुदूरपश्चिम प्रदेश समितिका उपाध्यक्ष हेमविक्रम चन्दको अध्यक्षतामा सम्पन्न भेलाको सञ्चालन डडेल्धुरा जिल्ला अध्यक्ष टंक अवस्थी र स्वागत केन्द्रीय सदस्य डबल तिरुवाले गर्नुभएको थियो ।
सीमा अतिक्रमण विरुद्ध कोणसभा
यसै सन्दर्भमा अखिल (छैठौं) ले सीमा अतिक्रमण तथा भारतीय जाली नक्सा खारेजीको माग गर्दै दिपायलमा कोणसभा गरेको छ । सभालाई संगठनका केन्द्रीय सदस्य विमल पोख्रेल, राजमो डोटीका सचिव केशवनाथ योगी, समता समाजका महासचिव गोविन्द बिकलगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन अखिल (छैठौं) डोटीका अध्यक्ष हेमविक्रम चन्दले गर्नुभएको थियो ।

