प्युठान । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) प्युठानले जिल्लाका नौवटै पालिकामा भेला गर्ने निर्णय गरेको छ । संगठनका महासचिव महेश जोशीको विशेष उपस्थिति तथा जिल्ला अध्यक्ष चोपलाल विकको अध्यक्षतामा बसेको बैठकले गाउँ तथा नगरपालिकाहरुको भेलाको मिति तय गरेको अखिल (छैठौं) प्युठानले जनाएको छ ।
त्यसका लागि अध्यक्ष चोपलाल विक र कोषाध्यक्ष जगत विकको नेतृत्वमा दुईवटा छुट्टाछुट्टै टोली गठन गरिएको छ । जिल्ला सचिव सरोज न्यौपानेलाई जिल्लाभर चल्ने अभियानहरुको संयोजन तथा व्यवस्थापकीय क्षेत्रको जिम्मा दिएको छ ।
अध्यक्ष विकको नेतृत्वमा ऐरावती गाउँपालिकामा पौष २१ गते, माण्डवी गाउँ पालिकामा पौष २२ गते, प्युठान नगरपालिका पौष २३ गते, मल्लरानी गाउँपालिका पौष २४ गते र झिम्रुक गाउँपालिकामा पौष २५ गते भेला गर्ने ठेगान भएको छ ।
यसैगरी कोषाध्यक्ष जगत विकको नेतृत्वमा गौमुखी गाउँपालिकामा पौष २१ गते, नौवहिनी गाउँपालिकामा पौष २३ गते, स्वर्गद्वारी नगरपालिका पौष २४ गते र सरुमारानी गाउँपालिकामा पौष २५ गते गर्ने ठेगान भएको छ ।
यस्तै, संघीयता विरुद्ध काठमाडौं मार्चको तयारीका लागि योजना बनाउन पौष १२ गते जिल्ला समितिको बैठक गर्ने निर्णय भएको सचिव सरोज न्यौपानेले जानकारी दिनुभएको छ ।

