काठमाडौँ । नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन भेटिएको छ । विदेशबाट आएका एक पुरुष र उनको सम्पर्कमा आएका अर्का एक जना गरी दुई जनामा ओमिक्रोन पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गर्दै नयाँ भेरियन्टबारे जानकारी दिएको छ । मन्त्रालयका अनुसार ६६ वर्षीय र ७१ वर्षीय दुई व्यक्तिमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ती विदेशी नागरिक मङ्सिर ३ गते ओमिक्रोन पुष्टि भएको देश हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रवेश गरेका थिए । उनी आउँदा नियमानुसार पी.सी.आर. रिपोर्ट नेगेटिभ तथा खोपको मात्र पूरा गरेको पाइएको थियो । मङ्सिर ७ गते कोभिड–१९ सँग मिल्दाजुल्दा लक्षण देखिएपछि परीक्षण गर्दा उनी र उनको सम्पर्कमा आएका ७१ वर्षीय अर्का व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर अधिकारीले जानकारी दिनुभयो ।
कोरोना पुष्टि भएकाहरूमा एस–जिन परीक्षण गर्नुपर्ने हालको नयाँ रणनीतिअनुरूप परीक्षण गर्दा दुवै जनाको नमुनामा एस–जिन फेला परेको थिएन । एस–जिन फेला नपरेका उक्त दुवै नमुनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा जिन सिक्वेनसिङ गर्दा मङ्सिर १९ आइतबार कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको थियो ।
सङ्क्रमित दुवै जना व्यक्ति तोकिएको मापदण्डअनुसार आइसोलेसनमा रहेका छन् । हाल उनीहरूमा कुनै लक्षण देखिएको छैन । उनीहरूको सम्पर्कमा आएका ६६ जना कन्ट्रयाक ट्रेसिङमा परेका थिए । उनीहरूको नमुना परीक्षण गर्दा नेगेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
२४ नोभेम्बरमा दक्षिण अफ्रिकामा देखिएको यो भाइरस हालसम्म विश्वका ३५ देशमा फैलिइसकेको छ ।

