कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरमा करिब दुई हप्तादेखि फैलिएको झाडापखाला अझै नियन्त्रणमा आउन सकेको छैन । झाडापखालाका कारण चार जनाले ज्यान गुमाइसकेका छन् ।
कृष्णनगर नगरपालिकाका वडा नम्बर ७, ८ र ९ मा झाडापखाला फैलिएको हो । बहादुरगञ्जस्थित शिवराज अस्पतालमा उपचारका लागि झाडापखालाका बिरामीहरु आउने क्रम रोकिएको छैन ।
अस्पतालमा उपचारका लागि आउने बिरामीहरुको संख्या ८७४ पुगेको छ भने सिकिस्त बनेका ४१ जनालाई अन्य अस्पतालमा रिफर गरिसकिएको अस्पतालले जनाएको छ ।
सो क्षेत्रमा खानेपानीबाट झाडापखाला फैलिएको विज्ञहरुले बताएका छन् । झाडापखाला प्रभावित क्षेत्रको पानीको नमूना परीक्षण गर्दा एउटा नमूनामा दिसामा पाइने इकोली नामक जिवाणु फेला परेको थियो । तर, कुन धाराको पानीमा जीवाणु फेला परेको भन्ने स्पष्ट भइसकेको छैन ।
गत शुक्रबार काठमाडौंको टेकुस्थित प्रयोगशालामा परीक्षण गर्न ल्याइएको नमूनाको विस्तृत रिपोर्ट भने अझै सार्वजनिक गरिएको छैन ।