काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको राजधानीको ग्राण्डि इन्टरनेस्नल अस्पतालमा मिर्गौलाको डायलासिस गरिएको छ । डायलासिसका क्रममा संक्रमण भएपछि प्रधानमन्त्रीलाई अझै केही दिन अस्पतालमै राख्ने तयारी छ ।
ओलीको मिर्गौलाले काम नगरेपछि बुधबार आकस्मिक रुपमा डायलसिस गरिएको चिकित्सकहरुले बताएका छन् । डायलासिस गर्नेक्रममा उनको रगतमा संक्रमण देखिएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार संक्रमण के कारणले भएको हो भन्ने खुलेको छैन । रगतको कल्चरको रिपोर्ट आएपछि के संक्रमण भएको हो थाहा हुन्छ ।
संक्रमण नियन्त्रण गर्न प्रधानमन्त्रीलाई उच्च सतर्कता सहित केही दिन अस्पतालमै राखेर उपचार गरिनु पर्ने भएको छ । प्रधानमन्त्रीले बुधबार एक घण्टा लगाएर डायलासिस गरिएको छ । बिहीबार २ घण्टा डायलासिस गर्ने तयारी छ । शुक्रबार तीन घण्टाको डायलासिस गरेपछि मात्रै पहिलो चरणको डायलासिस सम्पन्न हुन्छ ।
प्रधानमन्त्रीको मंगलबारदेखि पिसाव हुन नसकेपछि बुधबार विहान ग्राण्डि अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा परिक्षण गरेपछि उनको छातीमा एक लिटर भन्दा बढि पानी जमेको देखिएको थियो । उनको मिर्गौलाले काम गर्न छोडेके रिपोर्टहरुले देखाएपछि आकस्मिक रुपमा डायलासिस गर्ने निर्णयमा चिकित्सकहरु पुगेका हुन् ।
यद्यपी प्रधानमन्त्रीको सचिवालय र अस्पतालले भने यसबारे आधिकारिक रुपमा केही खुलाएका छैनन् । ग्रान्डि अस्पतालले बुधबार साँझ एक विज्ञप्ति प्रकासित गरी प्रधानमन्त्री ओलीको स्वास्थ्य सामान्य रहेको जनाएको थियो ।