काठमाडौं । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावप्रति सत्तारुढ दल नेकपा र प्रतिपक्षी नेपाली कांग्रेसलगायतका दलहरुले विरोध गरेका छन् । आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकले प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेर राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि विभिन्न दल तथा क्षेत्रबाट विरोध भइरहेको छ ।
संसद विघटन गणतन्त्रमाथि ‘कू’ : प्रचण्ड
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद विघटनको सिफारिस गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्रमाथि ‘कू’ गरेको बताउनुभएको छ । ‘संसद विघटनको सिफारिस गरेर प्रधानमन्त्रीले संघीय गणतन्त्रमाथि ‘कू’ गर्नुभयो’, प्रचण्डको भनाइ उद्धृत गर्दै प्रेस संयोजक विष्णु सापकोटाले भनेका छन् ।
संसद विघटनको सिफारिस लोकतन्त्रमाथिको प्रहार : कांग्रेस
यता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटनको सिफारिस अस्थिरताको पराकाष्ठा भएको जनाएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री ओलीले संसद विघटनका लागि गरेको सिफारिस लोकतन्त्रमाथिको प्रहार भएको बताउनुभएको छ । प्रवक्ता शर्माले प्रधानमन्त्री ओलीको यस्तो कदमप्रति नेपाली कांग्रेसले कडा प्रतिवाद गर्नेसमेत बताउनुभयो ।