चितवन । चितवनमा स्क्रब टाइफसका कारण साउन यता दुई जनाको मृत्यु भएको छ भने ९९ जनामासक्रमण फैलिएको छ । जिल्लाका विभिन्न अस्पतालमा साउनयता उपचार गराउन आएकामध्ये दुई जनाको मृत्यु भएको छ भने ९९ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
स्क्रब टाइफसका कारण मृत्यु भएकामा एक जना गैंँडाकोटकी महिला र एकजना रौतहटका पुरुष हुन् । जिल्लाका अस्पतालमा उपचार गराउन आउनेमा चितवनसहित नवलपरासी, तनहुँ, गोर्खा, मकवानपुर, धादिङ्, रौतहट बारालगायका जिल्लाका रहेका छन् ।
स्क्रब टाइफस ओरीएण्टा सुसुगामुसी नामक ब्याक्टेरियाबाट हुने सङ्क्रामक रोग हो । साधारणतया यो जीवाणुले मानिसलाई प्रत्यक्ष असर नपारी झाडीमा पाइने किर्ना (माइटस) लाई संक्रमणमा पार्दछ । ती संक्रमित किर्ना मुसालगायत अन्य जनावरका शरीरमा बस्न रुचाउने गर्दछन् ।
यी संक्रमित किर्ना बोकेका मुसा, जनावर मानिसको सम्पर्कमा आएपछि मानव शरीमा टाँसिएर टोक्ने गर्दछन् । यसबाहेक, ग्रामीण भेगमा झारपात र झाडीमा सङ्क्रमित किर्ना प्रशस्त हुन्छन् । ग्रामीण भेगका किसानलाई प्रत्यक्ष रुपले यी किर्नाले टोकेमा स्क्रब टाइफस रोग सर्ने गर्छ ।
यो रोग मानिसबाट मानिसमा सर्दैन । गर्भवतीले स्क्रब टाइफसबाट संक्रमित भए उनकोे गर्भाशय रहेको शिशु अंगभंग हुने सम्भावना रहेकाले यस सम्बन्धी परामर्श लिनुपर्ने चिकित्सकको सुझाव छ ।आर्थिक वर्ष २०७४/७५ मा दुई हजार २३७ जनाको नमूना परीक्षण गर्दा ४१० जनामा स्क्रब टाइफस भेटिएको थियो ।
यस्तै डेंगुबाट सङ्क्रमण हुनेको संख्या तीन हजार ६६९ जना पुगेको छ । केसीका अनुसार ११ हजार ९२७ जनामा परीक्षण गरिएको थियो । भदौको तेस्रो र चौथो साता निकै बढेको संक्रमण विस्तारै घट्दै गएको छ । डेंगुबाट जिल्लामा दुई जनाको मृत्यु भएको छ । डेंग एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो ।