बेइजिङ, १९ कात्तिक । अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीको सफलताले चीनसँगको सम्बन्धमा नयाँ अवसर र चुनौती सिर्जना गर्ने विश्लेषकहरूले बताएका छन् । कङ्ग्रेसका दुवै सदनमा डेमोक्रेटहरूको नियन्त्रण कायम भए राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन नीतिमा अङ्कुश लाग्न सक्ने भए पनि द्विपक्षीय सम्बन्धमा तत्काल सुधार हुने सम्भावना कम रहेको उनीहरूको विश्लेषण छ ।
डेमोक्रेटहरूको नियन्त्रणले चीनमाथि लगाइएको अमेरिकी भन्सार शुल्क सीमित हुन सक्नेछ । यसले व्यापार वार्तामा शुल्कलाई दबाबको अस्त्र बनाउने ट्रम्पको क्षमता कमजोर पार्न सक्ने फुदान विश्वविद्यालयका प्राध्यापक वु सिन्बोले बताउनुभएको छ । यद्यपि, अमेरिकी श्रमिक र साना व्यवसायमाझ शुल्क लोकप्रिय रहेकाले त्यसलाई हटाउन डेमोक्रेटहरूलाई पनि कठिन हुने विश्लेषकहरूको भनाइ छ ।
ताइवानको विषयले भने दुई देशबीचको तनाव बढाउन सक्ने देखिएको छ । ट्रम्प प्रशासनले चीनसँगको वार्तामा मोलमोलाइका लागि ताइवानलाई १४ अर्ब डलर बराबरका हतियार बिक्री प्रक्रिया रोकेको छ । डेमोक्रेटहरूको दबाबमा उक्त बिक्री पुनः सुरु भए चीनसँगको सम्बन्ध थप तनावपूर्ण हुन सक्ने विश्लेषकहरूको आकलन छ ।
निर्वाचनपछि ट्रम्प राजनीतिक रूपमा कमजोर बने पनि चीनले उहाँसँगको उच्चस्तरीय संवाद जारी राख्ने सम्भावना रहेको ब्रुकिङ्स इन्स्टिच्युसनकी प्याट्रिसिया किमले बताउनुभएको छ । चीनले ट्रम्पको कमजोर अवस्थालाई दबाब बढाउन उपयोग गर्न सक्ने भए पनि उहाँलाई गैरजिम्मेवार कदम चाल्न बाध्य पार्ने गरी अघि नबढ्ने एसओएएस चाइना इन्स्टिच्युटका निर्देशक स्टिभ साङको भनाइ छ ।
विश्लेषकहरूका अनुसार निर्वाचनले अमेरिका–चीन शक्ति सन्तुलनमा परिवर्तन ल्याए पनि दुई देशबीचको प्रतिस्पर्धा र अविश्वास तत्काल अन्त्य हुने सम्भावना छैन ।





