काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १३ जनालाई पक्राउ गरेको छ । अभियुक्तबाट लागुऔषधका अतिरिक्त चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधी, नगद रु २० हजार दुई सय र एउटा मोटरसाइकलसमेत बरामद भएको छ ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार शुक्रबार र शनिबार काठमाडौँका दुई स्थानबाट तीन, झापा र सुनसरीका एक/एक स्थानबाट दुई/दुई, पर्सा, लमजुङ र बर्दियाका एक/एक स्थानबाट एक/एक तथा कैलालीका दुई स्थानबाट तीन जनालाई पक्राउ गरिएको हो ।
काठमाडौँ महानगरपालिका–६ चुच्चेपाटीबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ चार ग्राम दुई सय ५० मिलिग्राम र नगद रु २० हजार दुई सयसहित सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ घर भएका ३९ वर्षीय छिरिङ शेर्पा पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका–३२ जडिबुटीबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ छ ग्राम सात सय ४० मिलिग्रामसहित दुई जना पक्राउ परेका छन् ।
झापाको झापा गाउँपालिका–५ खयरबारीबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ एक ग्राम ९५ मिलिग्रामसहित बाह्रदशी गाउँपालिका–२ का २४ वर्षीय खड्ग राजवंशी र सोही गाउँपालिका–१ का २५ वर्षीय चैतन हेमरम पक्राउ परेका छन् ।
पर्साको वीरगञ्ज महानगरपालिका–१६ बसपार्कबाट नियन्त्रित लागुऔषध डाइजेपाम २७ एम्पुल, फेनारगन २९ एम्पुल र बुप्रेनोर्फिन २८ एम्पुलसहित धादिङको ज्वालामुखी गाउँपालिका–२ घर भएका २० वर्षीय निमा लामा शेर्पालाई पक्राउ गरिएको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका–४ चटकपुरस्थित गोकुलेश्वर चौलानी होटलको कोठा तलासी गर्दा ब्राउनसुगरजस्तो देखिने पदार्थ एक सय २७ मिलिग्रामसहित डोटीको जोरायल गाउँपालिका–२ का २५ वर्षीय अमरबहादुर कुँवर पक्राउ परेका छन् ।
यसैगरी, भजनी नगरपालिका–३ कुसुमघाटबाट एक ग्राम ५० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन् ।
उनीहरूमध्ये रोशन सार्कीले प्रयोग गरेको मोटरसाइकल पनि बरामद प्रहरीले नियन्त्रणमा लिएको छ ।
लमजुङको बेँसीसहर नगरपालिका–१ देउरालीडाँडाबाट डाइजेपाम, बुप्रेनोर्फिन र फेनारगन १०/१० एम्पुलसहित बेँसीसहर नगरपालिका–८ भुलभुलेका ३० वर्षीय सुजन तामाङ पक्राउ परेका हुन् ।
सुनसरीको कोशी गाउँपालिका–१ लौकही केराबारीबाट दुई ग्राम एक सय ७० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित दुहबी नगरपालिका–३ का ३४ वर्षीय दीपक परियार र उदयपुरको बेलका नगरपालिका–३ का ३२ वर्षीय बलबहादुर थापा पक्राउ परेका हुन् ।
बर्दियाको बढैयाताल गाउँपालिका–७ कर्णाली पुलबाट दुई ग्राम सात सय १० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित बाँकेको कोहलपुर नगरपालिका–९ का २१ वर्षीय सुशील परियार पक्राउ परेका हुन् ।





