वीरेन्द्रनगर । डोल्पाको डोल्पो बुद्व गाउँपालिकाबाट शे फोक्सुण्डो तालतर्फ आउँदै गर्दा दुई महिलासहित छ जना भारतीय पर्यटक अत्यधिक हिमपातका कारण सम्पर्कविहीन भएका छन् ।
शे–फोक्सुण्डो गाउँपालिकाको वडा नं ४ र ८ को बिचमा पर्ने नुमलापास र वागलापास क्षेत्रबाट उनीहरू सम्पर्कविहीन भएका हुन् ।
बङ्गालको खाडीमा विकसित चक्रवात अर्नबको प्रभावका कारण हिमाली क्षेत्रमा हिमपात भएपछि उनीहरू फसेको हुन सक्ने अनुमान स्थानीय गाइडको छ ।
स्थानीयवासीले हिमपातका कारण हिमाल पार गर्न कठिन हुने भन्दै सचेत गराउँदासमेत पर्यटकहरू जबर्जस्ती उक्त क्षेत्रतर्फ गएको र फर्किने क्रममा हिउँमा फसेको हुन सक्न उनीहरूको बुझाइ छ ।
डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमालका अनुसार पर्यटकहरू धोबाट फोक्सुन्डो तालतर्फ फर्किने क्रममा हिउँमा फसेका हुन् ।
स्थानीयवासीले हिमाल पार गर्न समस्या हुने जानकारी गराउँदा–गराउँदै पनि उनीहरू त्यसतर्फ गएको र अहिले सम्पर्कविहीन भएको उनले बताइन् ।
शे फोक्सुन्डो गाउँपालिका अध्यक्ष धावा सम्दुक गुरुङका अनुसार वडा नम्बर ४ र ८ को बिचमा रहेका उक्त पासमा फोन सम्पर्कसमेत नहुने समस्या छ । सञ्चार सम्पर्क नहुने भएकाले पर्यटकको पछिल्लो अवस्थाबारे जानकारी लिन कठिन भइरहेको उनले बताए ।
डोल्पामा दुई सय ४४ पर्यटक
जिल्ला प्रशासन कार्यालय डोल्पाका अनुसार उपल्लो डोल्पामा दुई ४४ जना पर्यटक पुगेका छन् । तीमध्ये एक सय ४९ जना नेपाली, ४४ जना सार्क मुलुकका र ५१ जना अन्य विदेशी नागरिक रहेका छन् । प्रतिकूल मौसमका कारण प्रशासनले पर्यटकलाई जोखिमयुक्त क्षेत्रमा नजान र सुरक्षित स्थानमा रहन आग्रह गरेको छ ।
शे फोक्सुन्डो तालक्षेत्रमा पर्यटकको आकर्षण बढ्दै गएको तथ्याङ्कले देखाउँछ । गत आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा मात्रै चार हजार आठ सय ८२ जना पर्यटकले फोक्सुन्डो तालको भ्रमण गरेका थिए ।
डोल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिलराज गिरीले पछिल्लो जानकारीअनुसार सम्पर्कमा नआउका भारतीय पर्यटकको खोजी तथा उद्धारका लागि हेलिकप्टरको व्यवस्था गरिदिन सम्बन्धित निकायसँग माग गरिएको छ ।





