दुनै । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट फरार आठ जना कैदीबन्दी खोज्न जिल्ला प्रहरी कार्यालयले उनीहरूको खोजतलासको लागि सुरक्षा निकायलाई परिचालन गरेको छ । कैदीबन्दीहरू शुक्रबार सुरुङ खनेर भागेका थिए ।
सुरुङ खन्ने तरिका हेर्दा उनीहरूले शुक्रबार राति मात्रै नभई धेरै अगाडिदेखि भाग्ने योजना बनाएको देखिएको जिल्ला प्रहरी कार्यालयले जाननकारी दिएको छ ।
सूचना अधिकारी विनय सिंहका अनुसार कारागारभित्र १५ फिट लामो सुरुङ खनेको देखिएको छ । बाँकी भागमा सेफ्टी ट्याङ्कीको सहायतासमेत लिएको पाइएको छ ।
शुक्रबार राति पानी परेका कारण ड्युटीमा रहेका प्रहरीले उनीहरू भागेको थाहा पाउन सकेनन् । ‘हिजो राति पानी परेका कारण ड्युटीमा रहेका प्रहरीले थाहा पाएनन्’ प्रहरी निरीक्षक सिंहले भनेका छन्– ‘बिहान करिब ६ बजे मात्र प्रहरीले उनीहरू फरार भएको थाहा पायौँ ।’
डोल्पा जिल्लाका कारागार प्रशासक दीर्घराज आरसीका अनुसार कैदीबन्दीले आफूहरू सुत्ने कोठाको सिरानीपट्टिबाट सुरुङ खनेका थिए ।
उनीहरूको कोठानजिकै सेफ्टी ट्याङ्कीसमेत रहेकाले सुरुङ खन्ने र त्यसको सहायताले बाहिर निस्कने योजना बनाएको देखिन्छ ।
आरसीले भने– ‘म बाहिर थिएँ, बिहान पौने ६ बजे सुरक्षाकर्मी र हाम्रा कर्मचारीले उनीहरूको कोठा चेक गर्दा नभेटाएपछि बल्ल उनीहरू भागेको थाहा भयो ।’
फरार भएका कैदीबन्दी
कारागारबाट फरार हुनेमा पाँच जना जबर्जस्ती करणी मुद्दामा कैद सजाय भोगिरहेका छन् भने तीन जना चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका व्यक्ति ।
फरार हुनेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० का ३२ वर्षीय राम विक, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–७ का २९ वर्षीय कालिप्रसाद रोकाय, सल्यानको कुमाख गाउँपालिका–५ का २८ वर्षीय रेशम राना, जाजरकोटको बारेकोट गाउँपालिका–१ का २५ वर्षीय यज्ञ विक र डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ का २८ वर्षीय धन बुढा भनिने हरिबहादुर बुढा छन् । उनीहरू सबै जबर्जस्ती करणी मुद्दामा कैद सजाय भोगिरहेका थिए ।
त्यस्तै, जाजरकोटको नलगाड नगरपालिका–९ का १९ वर्षीय कैलाश भनिने कपिल परियार, रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ का ३८ वर्षीय तिलक भण्डारी र आठबिसकोट नगरपालिका–३ का ३२ वर्षीय निशान भनिने आदेश भण्डारी पनि फरार भएका छन् । उनीहरू चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका थिए ।
जिल्ला प्रहरी कार्यालयका अनुसार फरार कैदीबन्दीको खोजीका लागि अहिले सबै सुरक्षा निकाय परिचालन गरिएको छ ।
कारागार सर्चको समस्या
एक सय जनाको क्षमता रहेको डोल्पा जिल्ला कारागारमा घटनाको समयमा १७ जना कैदीबन्दी थिए । आठ जना फरार भएपछि अहिले नौ जना मात्रै बाँकी छन् ।
कारागारमा बेलाबेला सर्च गर्ने गरिए पनि पछिल्लो पटक बडादसैँयता सर्च अभियान सञ्चालन गरिएको थिएन ।
कारागार प्रशासक आरसीका अनुसार कैदीबन्दीबिच झगडा वा विवाद भएको अवस्थामा मात्रै सर्च अभियान चलाउने गरिएको थियो ।
पछिल्लो समय उनीहरूबिच कुनै विवाद नभएकाले पनि नियमित सर्च हुन नसकेको उनको भनाइ छ ।
पुरानो प्रहरी सहायक निरीक्षकको सरुवा भएपछि नयाँ आएको र त्यसपछि सर्च गर्ने विषयमा छलफल भए पनि कार्यान्वयन हुन सकेको थिएन ।
‘सई साब पनि नयाँ आउनुभयो । खालि साँझ पौने ६ बजे र बिहान पौने ६ बजे चेक मात्र गर्ने गरेका थियौँ’ प्रहरी भन्छन्– ‘नयाँ जिम्मेवारीमा आउनुभएका सुरक्षाकर्मीले सर्च गरौँला भन्दै गर्दा यस्तो घटना भइहाल्यो ।’





