पथलैया । बाराको फेटा गाउँपालिका–३ मा दुई पक्षमाझ झड्पपछिको स्थिति सामान्य बन्दै गएको छ । २०८३ कात्तिक १४ गते शनिवार दुई पक्षबिचको झडप रोक्ने क्रममा प्रहरीले चलाएको गोली लागेर एक बालक घाइते भएका थिए ।
नवनिर्मित १५ शैयाको आधारभूत अस्पताल उद्घाटनका विषयमा शनिबार बिहान करिब १०:३० बजेतिर स्थानीय दुई समूहबिच विवाद सुरु भएको थियो । विवाद बढ्दै गएर उग्र रूप लिएको थियो ।
विवाद झडपमा परिणत भएपछि स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर स्थानीय १४–१५ वर्षीय आदित्य पासवान घाइते भएका बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले जानकारी दिए ।
‘१५ बेडको अस्पताल उद्घाटन गर्ने सन्दर्भ हो । अहिलेको गाउँपालिका प्रमुख उद्घाटन गर्ने पक्ष र पूर्वपालिका प्रमुखलगायतको समूह उद्घाटन हुन नदिने पक्षमा’ उनले भने– ‘त्यसपछि दुइटा पक्षमै झडप भयो ।’
झडप भएपछि त्यहाँ गोली चलाउनुपरेको उनले जिकिर गरे । ‘गोली चलेपछि एक जना स्थानीय धर्मेन्द्र पासवानको छोरा १४–१५ वर्षको अन्दाजी आदित्य पासवान भन्नेलाई गोली लाग्यो’ प्रजिअ भट्टराईले भने ।
गोली लागेका बालकलाई पर्साको वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा लगिएको र त्यहाँ उपचार भइरहेको उनले जानकारी दिए ।
‘त्यो भाइको अपरेसन पनि भइसकेको छ अहिले’ उनले भने– “अपरेसन भएर गोली निकाल्ने काम भइसक्यो र परिस्थिति स्टेबल (स्वास्थ्य अवस्था स्थिर) छ ।’
झडप भएको स्थानमा पनि अवस्था सामान्यतर्फ उन्मुख रहेको उनले बताए । गोली एक राउन्ड मात्र चलाइएको उनको भनाइ छ ।
‘अहिले सामान्य उन्मुख छ’ उनले भने– ‘गोली एक राउन्ड चलेको छ ।’
घटना भएको स्थान र पालिका कार्यालयको ठाउँको दुरी सात सय मिटर हाराहारी रहेको उनले बताए । ‘सङ्घीय बजेट अनुदानमा बनेको अस्पताल हो’ उनले भने ।
घटनामा केही प्रहरी घाइते भएका उनले बताए । स्थानीय अरूलाई खासै ठुलो चोट नलागेको उनले उल्लेख गरे ।
‘त्यस्तो घाइते स्थानीय कोही पनि छैन । घाइते भनेको यसो अलिकति लाठीचार्ज गर्दागर्दै केही मान्छेलाई सामान्य चोटपटक होला’ उनले भने– ‘हाम्रो प्रहरीतर्फ अलिकति घाइते हुनुहुन्छ र उहाँहरू केहीलाई त काठमाडौँ नै पठाउनुपर्ने अवस्था पनि छ । चार–पाँचजना हुनुहुन्छ ।’
घटनापश्चात् १० थान मोटरसाइकलमा आगजनी गरिएको आफूहरूले सूचना पाएको उनले बताए ।
‘त्यसमा १० थानमा केही हाम्रा सुरक्षाकर्मीको मोटरसाइकल पनि परेका छन्’ उनले भने– ‘केही त्यहाँका कर्मचारीका निजी पनि परेका छन् । केही सरकारी बाइक पनि परेका छन् ।’
अवस्था सामान्योन्मुख रहेकाले हाललाई कफ्र्यु लगाउने तयारी नरहेको उनले स्पष्ट पारे । ‘अहिले त्यस्तो छैन । सुरक्षा विश्लेषणले त्यस्तो देखिएन’ उनले भने ।





