केप क्यानभेरल (फ्लोरिडा), ६ कात्तिक ।विश्वप्रसिद्ध चित्रकार भिन्सेन्ट भ्यान गगको चित्र ‘द स्टारी नाइट’ मा देखाइएको आकाश सन् १८८९ जुलाई २२ को वास्तविक आकाशसँग मिल्दोजुल्दो रहेको नयाँ अध्ययनले देखाएको छ । यसले उहाँले कल्पनाबाट मात्रै नभई फ्रान्सको आश्रयस्थलबाट देखेको आकाशबाट प्रेरणा लिएर चित्र बनाएको हुन सक्ने सङ्केत गरेको छ ।
दक्षिण कोरियाली अनुसन्धान टोलीले खगोलीय विश्लेषणका आधारमा चित्रमा देखाइएको आकाश फ्रान्सको सेन्ट–रेमी–दे–प्रोभेन्सबाट जुलाई २२ आसपास देखिएको आकाशसँग मेल खाने निष्कर्ष निकालेको हो । यो मिति कला इतिहासकारहरूले लामो समयदेखि स्वीकार गर्दै आएको सन् १८८९ जुनको मितिभन्दा करिब एक महिना पछिको हो ।
सियोलस्थित टेलिस्कोप निर्माता कम्पनीका प्रमुख कार्यकारी तथा क्युङ ही विश्वविद्यालयका विद्यावारिधि शोधार्थी एलिजा जियोंग–ह्युन किमको नेतृत्वमा गरिएको अध्ययन ‘साइन्टिफिक रिपोट्र्स’ जर्नलमा प्रकाशित भएको छ । चित्रमा घुमाउरा ताराहरू, अर्धचन्द्र, शुक्र ग्रह, गाउँ र साइप्रसका अग्ला रूख देखिन्छन् ।
किमका अनुसार जुलाई २२ आसपास चन्द्रमाको आकार चित्रसँग मिल्नुका साथै वृषभ तारामण्डलको हाइड्स तारा समूह शुक्र ग्रहसँगै पूर्वी आकाशमा उदाउने अवस्था थियो । मौसमसम्बन्धी तथ्याङ्कले पनि आकाश सफा रहेको हुन सक्ने देखाएको छ । उहाँले सन् २०१९ मा फ्रान्स पुगेर जुन र जुलाईको आकाश तुलना गर्नुभएको थियो ।
यद्यपि, मेक्सिकोको राष्ट्रिय स्वायत्त विश्वविद्यालयका भौतिकशास्त्री जोस लुइस एरागोनले जुलाई २२ लाई निश्चित मिति मान्नुभन्दा चाखलाग्दो परिकल्पनाका रूपमा लिनुपर्ने बताउनुभएको छ । उहाँका अनुसार चित्रमा देखाइएको चन्द्रमाको आकार जुनको मध्यतिरको आकाशसँग नमिल्नु लामो समयदेखिको पहेली हो ।
भ्यान गगले आश्रयस्थलको चित्रकक्षमा बसेर स्मृति र रेखाचित्रका आधारमा चित्र बनाउनुभएको हुनाले ‘द स्टारी नाइट’ मा विभिन्न रातका आकाशका दृश्य मिसिएका हुन सक्ने एरागोनको भनाइ छ । उहाँले भने वास्तविक आकाशको अवलोकनले चित्रलाई प्रेरित गरेको हुन सक्ने निष्कर्षलाई महत्त्वपूर्ण मान्नुभएको छ ।
अनुसन्धानकर्ताहरूले भ्यान गग र उहाँका भाइहरूबीच आदानप्रदान भएका पत्रहरूको विश्लेषणका आधारमा उहाँलाई जुलाईको अन्त्यतिर अचानक स्वास्थ्य समस्या देखिएको हुन सक्ने बताएका छन् । पत्रमा उल्लेख गरिएका सिकाडा कीरासम्बन्धी सन्दर्भले पनि उक्त समय जुलाई महिना भएको सङ्केत गर्ने उनीहरूको भनाइ छ ।
लामो अनुसन्धान गर्नुभएका किमले भने अहिलेसम्म न्युयोर्कस्थित आधुनिक कलाको सङ्ग्रहालयमा राखिएको ‘द स्टारी नाइट’ प्रत्यक्ष हेर्नुभएको छैन । अनुसन्धानपत्र प्रकाशित भएपछि अब सङ्ग्रहालय पुगेर चित्र हेर्ने इच्छा उहाँले व्यक्त गर्नुभएको छ ।





