काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालमा मुभमेन्ट डिसअर्डर, पार्किन्सन, डिस्टोनिया, छारेरोग तथा मेरुदण्डसम्बन्धी समस्या भएका बिरामीका लागि विशेष क्लिनिक तथा शल्यक्रिया कार्यक्रम सञ्चालन हुने भएको छ।
वीरको न्युरोसर्जरी विभाग र अमेरिकाको भर्जिनियास्थित क्यारिलियन अस्पतालको सहकार्यमा आगामी कात्तिक १०–१२ गतेसम्म सो सेवा सञ्चालन हुने भएको हो ।
वीर अस्पतालले सार्वजनिक गरेको सूचनाअनुसार उक्त कार्यक्रमअन्तर्गत बिरामीको परीक्षण तथा मूल्याङ्कन गरिनेछ ।
कार्यक्रममा डिप ब्रेन स्टिमुलेसन (डिबिएस), लेजनिङ, स्पाइनल कर्ड स्टिमुलेसन तथा भेगस नर्भ स्टिमुलेसनलगायतका विशिष्ट उपचार विधिसम्बन्धी सेवा उपलब्ध गराउने उद्देश्य राखिएको छ । विशेषज्ञ चिकित्सकबाट गरिने मूल्याङ्कनपछि शल्यक्रियाका लागि उपयुक्त बिरामी छनोट गरिने अस्पतालले जनाएको छ ।
सम्बन्धित रोग तथा समस्याबाट पीडित बिरामीलाई समयमै सम्पर्क गरी अपोइन्टमेन्ट लिन अस्पतालले अनुरोध गरेको छ । विशेषगरी पार्किन्सन, डिस्टोनिया, औषधीबाट नियन्त्रणमा नआएको छारेरोग, मुभमेन्ट डिसअर्डर तथा मेरुदण्डसम्बन्धी समस्या भएका बिरामीले विशेषज्ञबाट जाँच गराउन सक्नेछन् ।






