काठमाडौँ । भारतको राष्ट्रिय औषधी मूल्य निर्धारण प्राधिकरण (एनपिपिए) ले एक सय ३७ प्रकारका क्यान्सर औषधीमा व्यापार मार्जिन अधिकतम खुद्रा मूल्य (एमआरपी) ७० प्रतिशत घटाउँदा नेपाललाई लाभ हुने देखिएको छ ।
अक्टोबर १७, २०२६ का दिन जारी राजपत्र सूचनाअनुसार संशोधित मूल्य नोभेम्बर ९ देखि लागु हुनेछ । औषधीको वितरण तथा खुद्रा बिक्रीमा हुने अत्यधिक नाफा नियन्त्रण गरी क्यान्सर उपचारको आर्थिक भार घटाउनु निर्णयको उद्देश्य हो ।
नयाँ मूल्यसीमामा २० भन्दा बढी प्रकारका क्यान्सरको उपचारमा प्रयोग हुने इम्युनोथेरापी औषधी, स्तन तथा प्रोस्टेट क्यान्सरका बिरामीलाई दिइने डेनोसुम्याब, क्यान्सरका बिरामीमा न्युट्रोपेनिया रोक्न प्रयोग हुने पेगफिलग्रास्टिम र विभिन्न क्यान्सरको उपचारमा प्रयोग हुने बेभासिजुम्याब समेटिएका छन् । पेम्ब्रोलिजुम्याब, डुर्भालुम्याब र ओसिमर्टिनिबजस्ता औषधीमा पनि नयाँ मूल्यसीमा लागु हुने बताइएको छ ।
यसअघि सन् २०१९ मा एनपिपिएले ४२ प्रकारका क्यान्सर औषधीमा व्यापार मार्जिन ३० प्रतिशतमा सीमित गरेको थियो । उक्त निर्णयपछि पाँच सय २६ ब्रान्डका औषधीको अधिकतम खुद्रा मूल्य ९० प्रतिशतसम्म घटेको प्राधिकरणले जनाएको छ ।
स्वास्थ्य सेवा महानिर्देशनालयअन्तर्गतको विज्ञ समितिको सिफारिसमा नयाँ औषधीको सूची तयार गरिएको बताइएको छ । औषधी मूल्य नियन्त्रण आदेश–२०१३ को अनुच्छेद १९ अनुसार लागु गरिएको यो व्यवस्था समयसमयमा अद्यावधिक गरिनेछ ।
निर्माता कम्पनीले सूचना प्रकाशित भएको सात दिनभित्र संशोधित मूल्य प्राधिकरणलाई जानकारी गराउनुपर्नेछ । नोभेम्बर ९ देखि खुद्रा विक्रेता तथा अस्पतालले नयाँ मूल्यअनुसार औषधी बिक्री गर्नुपर्नेछ । अस्पतालले आफ्नो वेबसाइटमा पनि संशोधित मूल्यसूची सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको छ ।
औषधीको उपलब्धता सहज बनाउन कम्पनीलाई उत्पादन तथा आपूर्ति यथावत् राख्न निर्देशन दिइएको छ । मूल्य कार्यान्वयनको अनुगमन राज्यका औषधी नियन्त्रकले गर्नेछन् । उपभोक्ताले संशोधित मूल्य एनपिपिएको वेबसाइट तथा ‘फार्मा सही दाम’ एपमार्फत हेर्न सक्नेछन् ।





