खिमराज चालिसे, चन्डिगढ ।
रसुवाको भोटेकोसी बाढीले निम्त्याएको सङ्कटको समयमा पीडितप्रति ऐक्यबद्धता जनाउँदै मूल प्रवाह अखिल भारत नेपाली एकता समाज लुधियानाले राहत सङ्कलन कार्यक्रम सम्पन्न गरेको छ ।
सेप्टेम्बर १३, २०२६ का दिन मौलिक संस्कृतिको जगेर्ना गर्ने माध्यमको रूपमा प्रगतिशील तिजी कार्यक्रमसहित सिटी नगर समितिले सो कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथिको आसनबाट मन्तव्य राख्दै महासचिव त्रिभुवन भट्टराईले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि राहत सङ्कलन गर्नुका साथै प्राकृतिक विपत्तिमा ज्यान गुमाएका मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो ।
उहाँले मूल प्रवाह जस्तोसुकै विषम परिस्थितिमा पनि पीडितको पक्षमा राहतकार्यमा खट्दै समस्यामा ऐक्यबद्धता जनाउनुका साथै तिजी कार्यक्रमलाई प्रगतिशील रूपान्तरणको माध्यमबाट सञ्चालन गरेको स्पष्ट पार्नुभयो ।
मृतकको स्मृतिमा मैनबत्ती बालेर दुई मिनट मौनधारण अर्पण गरी सुरु गरिएको सो कार्यक्रममा केन्द्रीय सदस्य एवम् सुदूर पश्चिमोत्तर क्षेत्रीय अध्यक्ष तारा सोमरे, केन्द्रीय सदस्य रामचन्द्र पौडेल, केन्द्रीय सल्लाहकार राजकुमार शाही, सुदूर पश्चिमोत्तर क्षेत्रीय सदस्य उदयसिंह चन्द, नगर समितिका राजु पौडेल, चक्र चन्द, माधव भट्टराई, गणेश विक, भगत विक, नरबहादुर विक, राजु खनाल, हुमबहादुर राना र पार्वती चन्दलगायतको आतिथ्य रहेको थियो ।
पशुपति पोखरेलको अध्यक्षता तथा दीपा चन्दको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा सहभागीलाई खुमबहादुर थापाले स्वागत गर्नुभएको थियो ।


