आनन्द शर्मा, अध्यक्ष, युगज्योति प्रकाशन प्रालि
युगदर्शन साप्ताहिकले सातौँ वर्ष पार गरी आठौँ वर्षमा प्रवेश गरेको छ । यो अवसरमा हामी हाम्रा समस्त पाठक, लेखक, विज्ञापनदाता, संवाददाता, सम्पादकलगायत सम्पूर्णमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहान्छौँ । यहाँहरूको साथसहयोगविना हामीलाई यो लामो कठिनतम यात्रा गर्नु सम्भव हुने थिएन । हामी सदैब सरकारको प्रतिपक्ष तर जनता र राष्ट्रको पक्षमा खडा भइरह्यौँ ।
वर्तमान सरकारले विरोधका सबै आवाजलाई दबाउने कोसिस गरिरहेको छ । सरकारका गलत नीतिका विरुद्ध आवाज उठाउने सम्पूर्ण नागरिकलाई मात्र होइन, पत्रकारका विरुद्ध समेत मुद्दा लगाउने, गिरफ्तार गर्नेजस्ता दमनकारी नीति अवलम्बन गरेको छ । पत्रपत्रिकालाई बन्द गराउन लोककल्याणकारी विज्ञापन रोक्नेदेखि अनेक प्रकारका बन्देज लगाउने प्रयास सरकारले गरिरहेको छ ।
हिजो पञ्चायती निरङ्कुश व्यवस्थाका विरुद्धमा समेत दृढतापूर्वक उभिएको प्रेस जगत्का अगाडि कैयन् गम्भीर प्रकारका चुनौती खडा गरिएका थिए । आज पनि त्यही प्रकारको अवस्था छ । जनताको सुसूचित हुन पाउने नैसर्गिक अधिकारका विरुद्ध वर्तमान सरकारका फासिवादी नीतिका बाबजुद आवाजविहीन निमुखा जनताको आवाज बन्ने उद्देश्यबाट हामी कहिल्यै विचलित हुने छैनौँ । हामी निरन्तर देश र जनताको पक्षमा दृढतापूर्वक अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छौँ ।
अन्तमा युगदर्शन मिडियाले १७ वर्ष पूरा गरेर १८ वर्षमा तथा यसै मिडियाअन्तर्गतको युगदर्शन साप्ताहिकले सातौँ वर्ष पूरा गरेर आठौँ वर्षमा प्रवेश गरेको अवसरमा सबैलाई पुन: धन्यवाद ज्ञापन गर्न चाहान्छौँ ।
