पाल्पा, २१ भदौ । पाल्पामा चालु आर्थिक वर्षको साउनदेखि भदौ २० गतेसम्म २३१ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार यो संख्या लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा धेरै हो ।
पाल्पा अस्पताल, रामपुर अस्पताल, लुम्बिनी मेडिकल कलेज र युनाइटेड मिसन अस्पतालमा उपचारका लागि पुगेका बिरामीको परीक्षणबाट संक्रमण पुष्टि भएको हो । जिल्लाका अन्य स्वास्थ्य संस्था तथा निजी मेडिकलमा पनि डेंगु संक्रमित बढ्दै गएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्वास्थ्य कार्यालयका सूचना अधिकारी मधुसुधन भट्टराईका अनुसार जलवायु परिवर्तन, वर्षायाम र परीक्षणको दायरा बढेकाले संक्रमितको संख्या बढेको हो । पाल्पामा गत आर्थिक वर्ष २०८२/८३ मा ४३२, २०८१/८२ मा ५१० र २०८०/८१ मा ६८६ जनामा डेंगु संक्रमण पुष्टि भएको थियो ।
डेंगुबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिनुका साथै लामखुट्टेको वृद्धि रोक्न आवश्यक सावधानी अपनाउन चिकित्सकले सुझाव दिएका छन् ।





