खिमराज चालिसे, चन्डिगढ ।
भारतको पन्जाब राजपुरामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले रसुवाका बाढीपीडितका लागि राहत सङ्कलन तीव्र पार्ने भएको छ ।
सेप्टेम्बर २, २०२६ का दिन सम्पन्न मूल प्रवाह राजपुराको बैठकबाट सो निर्णय गरिएको हो ।
रसुवाबाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै बैठकले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको बताइएको छ ।
बैठकपछि एरिया समितिका अध्यक्ष राजु वनले युगदर्शनलाई भन्नुभयो– ‘परदेशमा रहे पनि सङ्कटमा परेका स्वदेशी दाजुभाइलाई मदत गर्नु हाम्रो कर्तव्य हो ।’
राजपुरा एरिया समितिका पदाधिकारीले स्वत:स्फूर्त रूपमा मन खोलेर राहत सङ्कलन सुरु गरेका छन् । यो अभियान केही दिनसम्म जारी रहने समितिले जनाएको छ ।
बैठकले आगामी सेप्टेम्बर १४ का दिन पूर्व निर्धारित समय र स्थानमा राजपुरा एरिया समितिको आयोजनामा तिज कार्यक्रम भव्य रूपमा सम्पन्न गर्ने निर्णय पनि गरेको बताइएको छ ।
