मनाली, भारत । नेपालको रसुवा जिल्लामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका ज्ञात–अज्ञात व्यक्तिहरूको सम्झनामा भारतको हिमाचल प्रदेशस्थित मनालीमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले श्रद्धाञ्जली सभा तथा मैनबत्ती मार्च गरेको छ ।
समाजअन्तर्गत कटराई एरिया समिति र पतलीकुल एरिया समितिको संयुक्त आयोजनामा ३० अगस्ट २०२६ मा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सहभागीहरूले मैनबत्ती प्रज्वलन गर्दै प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएका सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए ।
प्राकृतिक विपत्तिले निम्त्याएको यस अकल्पनीय दुःखद् घटनाप्रति ऐक्यबद्धता जनाउँदै मृतकहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्न कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।
श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै नगर अध्यक्ष रतनलाल पुन, उपाध्यक्ष कुमार लामा, सचिव तिलक सिजापति, कोषाध्यक्ष विष्णु शर्मा तथा सचिवालय सदस्य हरिशकुमारलगायतले प्राकृतिक विपत्तिमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो। उहाँहरूले विपत्तिबाट प्रभावित परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै पीडितहरूको दुःखमा आफूहरू पनि साथमा रहेको बताउनुभएको थियो ।
कार्यक्रममा सहभागीहरूले विपत्तिमा परी ज्यान गुमाएका सम्पूर्ण मृतकहरूको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गरेका थिए । साथै, प्राकृतिक विपत्तिबाट प्रभावितहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सम्बन्धित निकायले प्रभावकारी कदम चाल्नुपर्नेमा समेत जोड दिइएको थियो ।


