भारत । भारतको हिमाचल प्रदेशको मनाली र भुल्तरमा नेपालको रसुवा जिल्लामा हालै आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका ज्ञात–अज्ञात व्यक्तिहरूप्रति मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले श्रद्धाञ्जली अर्पण गरेको छ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको हिमाचल राज्य समितिअन्तर्गत भुल्तर नगर र मनाली नगर समितिको आयोजनामा अगस्त २९, २०२६ मा छुट्टाछुट्टै स्थानमा विशेष शोकसभा तथा मैनबत्ती मार्च (क्यान्डल मार्च) सम्पन्न भएको हो ।
प्राकृतिक विपत्तिले निम्त्याएको यस अकल्पनीय पीडाको घडीमा मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्न नगर समितिहरूले उक्त कार्यक्रम आयोजना गरेका हुन् ।

कार्यक्रममा उपस्थित नेता, कार्यकर्ता तथा सर्वसाधारणले हात–हातमा बलिरहेको मैनबत्ती बोकेर मौन मार्च गरेका थिए । भौगोलिक रूपमा टाढा रहे पनि प्रवासमा रहेका सम्पूर्ण नेपालीहरूको मन मातृभूमि नेपाल र त्यहाँका दाजुभाइ तथा दिदीबहिनीहरूसँगै रहेको भावना व्यक्त गरेका थिए ।
मनालीमा आयोजित कार्यक्रममा नगर समितिका अध्यक्ष रतनलाल पुन, कोषाध्यक्ष विष्णु शर्मा र सचिव तिलक सिञ्जापतिले सम्बोधन गरेका थिए ।
त्यसैगरी, भुल्तरको कार्यक्रममा नगर समितिका अध्यक्ष कन्हैयालाल, उपाध्यक्ष मनिराम र सचिव दिनेशकुमारले सम्बोधन गरेका थिए।
दुवै स्थानमा आयोजित मैनबत्ती मार्चमा हिमाचल प्रदेशका विभिन्न क्षेत्रमा बसोबास गर्ने ठूलो संख्यामा नेपाली समुदायको उपस्थिति रहेको थियो ।

