काठमाडौँ । महिलानेतृ सकुन्तला रानाको निधन भएको छैटौँ दिन नेकपा (मसाल) ले श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।
राष्ट्रिय जनमोर्चा केन्द्रीय कार्यालयको सभाकक्षमा २०८३ भदौ ३ गते बुधबार सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको प्रमुख अतिथि मसालका महामन्त्री मोहनविक्रम सिंह हुनुहुन्थ्यो ।
सो अवसरमा मन्तव्य राख्दै उहाँले सकुन्तलाले जीवनको अन्तसम्म देश र जनताप्रति प्रतिबद्ध रहेको नेतृ रहेको स्पष्ट पार्नुभयो ।
‘आजीवन पार्टी र क्रान्तिको पक्षमा काम गर्नु “सौभाग्य” को कुरा हो’ उहाँले भन्नुभयो– ‘यस्तो “सौभाग्य” सकुन्तलालाई प्राप्त भयो । हामी भन्न सक्दैनौँ, हामीलाई त्यो “सौभाग्य” प्राप्त हुन्छ कि हुन्न ?’
क्रान्तिकारी जीवनमा निरन्तरता निकै महत्त्वपूर्ण विषय रहेको स्पष्ट पार्दै उहाँले सकुन्तला यस्तै होनहार कार्यकर्ता रहेको बताउनुभयो ।

मन्तव्यको क्रममा उहाँले सकुन्तलाको क्रान्तिकारी जीवनकै कारण उहाँको उपचारका लागि रकमको अभाव नभएको जानकारी दिनुभयो ।
क्यान्सरजस्ता प्राणघातक रोगको उपचार सरकारले लिनुपर्ने आवश्यकतामा जोड दिँदै उहाँले यसको पक्षमा देशव्यापी आन्दोलन उठाउनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
विश्वका कैयौँ देशले यस्ता रोगको उपचार नि:शुल्क गरेको उदाहरण प्रस्तुत गर्दै उहाँले नेपालमा पनि यस्तो व्यवस्था हुनुपर्ने माग राख्नुभयो ।
शोकमन्तव्य राख्दै राजमोका केन्द्रीय सल्लाहकार आनन्द शर्माले मृत्युपर्यन्त सकुन्तलाले क्रान्तिकारी पार्टीमा काम गर्नुभएकाले उहाँको जीवन सार्थक रहेको बताउनुभयो ।
मसाल, राजमो र अन्य जनवर्गीय सङ्गठनका साथै शुभेच्छुकको सहयोगबाट सकुन्तलाको उपचार अघि बढेको र जीवनका लागि अत्यधिक प्रयत्न गरेको उहाँले जानकारी दिनुभयो ।

नयाँदिल्लीमा सकुन्तलाको अन्तिम सास आफ्नैअगाडि गएको स्मरण गर्दै उहाँले जीवनमा मृत्यु सत्य भए पनि सकुन्तलाले गौरवपूर्ण जीवन बाँचेको बताउनुभयो ।
अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी मन्तव्य राख्दै सकुन्तलाले कम्युनिस्ट दर्शनअनुसारको जीवन बाँचेको बताउनुभयो ।
कम्युनिस्ट दर्शनको क्रममा अगाडि बढ्दै गर्दा पारिवारिक जीवनसमेत बिताउन नसकेको उहाँको दाबी थियो ।

राजमो महासचिव मनोज भट्टले पार्टी र क्रान्तिप्रति समर्पित यात्रा नै सकुन्तलाको जीवनको महत्त्वपूर्ण पक्ष रहेको उहाँ स्पष्ट पार्नुभयो।
समर्पणभाव र आर्थिक अभावका बाबजुद पार्टीजीवनमा सक्रियता उहाँबाट सिक्नुपर्ने दुइटा पक्ष भएको उहाँको थप भनाइ थियो ।

जातीय समता समाजका अध्यक्ष तथा राष्ट्रियसभाका सांसद राजेश विश्वकर्माले महिलानेतृ सकुन्तलाको पार्टी र महिला आन्दोलनप्रतिको लगनशीलता नै कम्युनिस्ट आन्दोलनको मूल पुँजी रहेको भनाइ राख्नुभयो ।
आगामी दिनमा उहाँजस्ता थुप्रै कार्यकर्ता उत्पादन गर्नु नै सकुन्तलाप्रति सच्चा श्रद्धाञ्जली हुने उहाँको विचार थियो ।

अखिल नेपाल बुद्धिजीवी सङ्घका सचिवालय सदस्य समीर सिंहले शोकमन्तव्य राख्दै नेपालको सन्दर्भमा महिलामा स्वास्थ्य सचेतना झनै बढी आवश्यक रहेको बताउनुभयो ।
आजीवन कम्युनिस्ट पार्टीप्रतिको सक्रियताका कारण सकुन्तलाको मृत्यु पहाडजस्तो अजङ्गको रहेको उहाँको भनाइ थियो ।

राजमो उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले क्यान्सर लागे पनि सकुन्तलाको मृत्यु यति छिटो हुनेछ भन्ने आफूहरूले नसोचेको बताउनुभयो ।
किमोद्वारा सफल उपचार भएपछि सकुन्तला न्युनतम दश वर्ष बाँच्नुहुनेछ भनेर आफूले आशा राखेको उहाँको भनाइ थियो ।

अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुनले शोकमन्तव्यको क्रममा २०५१ सालदेखि लगातार सकुन्तलासँग सहकार्य गरिरहेको स्मरण गर्नुभयो ।
महासचिवको रूपमा सक्रिय रहँदै गर्दा सकुन्तलाको मृत्यु भएको सन्दर्भमा उहाँले उहाँप्रतिको जिम्मेवारी पूरा गर्न शोकलाई शक्तिमा बदल्ने दाबी गर्नुभयो ।

राजमो नेता वासु पोखरेलले २०६६ सालमा प्युठान अभियानमा सकुन्तलासँग आफूले पनि सहकार्य गरेको स्मरण गर्नुभयो ।
उहाँले सकुन्तलालाई उच्च राजनीतिक चेतनास्तर भएको कम्युनिस्ट पार्टीको कार्यकर्ताको रूपमा चर्चा गर्नुभयो ।

अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढाथोकीले देश, जनता र पार्टीप्रति समर्पित कार्यकर्ताको रूपमा सकुन्तलालाई इङ्गित गर्नुभयो ।
व्यक्तिगत स्वार्थबाट माथि उठेर सामाजिक कार्यकर्ताको रूपमा सकुन्तलाको राजनीतिक व्यक्तित्व रहेको उहाँको भनाइ थियो ।

अखिल नेपाल कानुन व्यवसायी सङ्घ (अन्ला) का अध्यक्ष अधिवक्ता पदम रोकाले आफूलाई जित्न सफल कमरेडको रूपमा सकुन्तलाको व्यक्तित्व रहेको भनाइ राख्नुभयो ।
सामाजिक रूपान्तरणको पक्षमा आजीवन लागेकी सकुन्तलाको व्यक्तित्व रहेको र उहाँको असामयिक मृत्युबाट कम्युनिस्ट आन्दोलनलाई ठुलो क्षति भएको उहाँले बताउनुभयो ।

सकुन्तलाकी दिदी सारदा रानाले २०४६ सालको सेरोफेरोबाट आफूले बहिनीसँगै कम्युनिस्ट आन्दोलननमा काम गरेको स्मरण गर्नुभयो ।
मन्तव्यको क्रममा उहाँले अर्घाखाँचीको असुरकोटमा रहेर बहिनीसँगै आफूसमेत मसालको राजनीतिक गतिविधिमा संलग्न रहेको इतिहासका कैयौँ स्मरण सुनाउनुभयो ।

अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का कावा अध्यक्ष धनपति सापकोटाले सकुन्तला रानाको मृत्युबाट कम्युनिस्ट र महिला आन्दोलनलाई क्षति पुगेको बताउनुभयो ।
उहाँले सकुन्तलाले लिनुभएको बाटोबाट अघि बढेर नै त्यो क्षतिलाई न्यूनीकरण गर्न सकिने विचार राख्नुभयो ।

प्रगतिशील पत्रकार सङ्घका महासचिव प्रकाश थापामगरले सकुन्तलाको सङ्क्षिप्त जीवनी प्रस्तुत गर्नुभएको थियो ।
सो अवसरमा उहाँले सकुन्तला सकारात्मक र नकारात्मक प्रवाहबाट प्रभावित नहुने अविचल योद्धाको रूपमा सकुन्तलालाई प्रस्तुत गर्नुभयो ।

राष्ट्रिय सहकारी अभियानका महासचिव रमेश पौडेलले सकुन्तलाको निधनबाट कम्युनिस्ट आन्दोलनसँगै महिला आन्दोलनले पनि क्षति बेहोरेकोले त्यसको पूर्तिका लागि काम गर्नुपर्ने बताउनुभयो ।
उहाँले सकुन्तलाजस्तो महिलानेतृको अभाव नेपाली कम्युनिस्ट आन्दोलनलाई सधैँ खड्किरहने बताउनुभयो ।

रक्तिम सांस्कृतिक अभियानका महासचिव हेमराज आश्रमले सकुन्तलाको निधनले नेपालको सामाजिक आन्दोलनमा पूरा हुन नसक्ने क्षति पुगेको विचार राख्नुभयो ।
सकुन्तलाले महिला आन्दोलनमार्फत् समाजको रूपान्तरणका काम गरेको उहाँको भनाइ थियो ।

मसालका केन्द्रीय प्रवक्ता रामप्रकाश पुरीको अध्यक्षता तथा मसालकै काठमाडौँ जिल्ला प्रवक्ता जगत् रेग्मीको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रमको प्रारम्भमा सकुन्तलाको स्मृतिमा एक मिनट मौनधारण गरिएको थियो ।
कार्यक्रममा नेकपा (एमाले) का नेता तथा सकुन्तलाका भिनाजु कृष्ण भुजेललगायत ठुलो सङ्ख्यामा मसालसम्बद्ध नेताकार्यकर्ता, परिवार, आफन्तलगायतको उपस्थिति रहेको थियो ।

सकुन्तला रानाको गत साउन २९ गते नयाँदिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचारको क्रममा निधन भएको थियो । उहाँको शव नेपाल ल्याइएपछि साउन ३१ गते बिहान राजमो अर्घाखाँचीको कार्यालयमा श्रद्धाञ्जली सभा सम्पन्न भएपछि साँझ अर्घाखाँचीकै गच्छेघाटमा दाहसंस्कार गरिएको थियो ।

