काठमाडौं । चिकित्सा शिक्षा आयोगमा निर्देशक तथा बोर्ड सदस्यहरूको नियुक्ति हुन नसक्दा आयोगका शैक्षिक र नीतिगत कामहरू ठप्प भएका छन्। नेतृत्व अभावका कारण एमबीबीएस, बीडीएस, नर्सिङलगायत स्नातक तहका एकीकृत प्रवेश परीक्षाको कार्यतालिका अझै सार्वजनिक हुन सकेको छैन।
सरकारले वैशाख १९ गते जारी गरेको अध्यादेशपछि आयोगका पदाधिकारी पदमुक्त भएकाले तीन महिनादेखि प्रमुख निर्देशनालयहरू नेतृत्वविहीन छन्। यसले प्रवेश परीक्षा, मेडिकल कलेजहरूको सिट निर्धारण, शिक्षण संस्थाको अनुगमन, गुणस्तर मूल्याङ्कन तथा प्रत्यायनका काम प्रभावित भएका छन्।
प्रतिनिधिसभामा सांसद रमेश मल्लले करिब ६० हजार विद्यार्थी प्रवेश परीक्षाको तयारीमा रहे पनि आवेदनसम्बन्धी सूचना नै जारी हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
आयोगका सूचना अधिकारी अर्जुन ढकालका अनुसार परीक्षा निर्देशनालयमा निर्देशक नहुँदा परीक्षा समिति गठन हुन नसकेको र त्यसकै कारण प्रवेश परीक्षा प्रक्रिया अघि बढ्न सकेको छैन। यसले नयाँ शैक्षिक सत्र सुरु हुन ढिलाइ हुनुका साथै वैदेशिक अध्ययनका लागि आवश्यक योग्यता प्रमाणपत्र, विशेषज्ञता परीक्षा तथा अन्य प्रशासनिक कामसमेत प्रभावित भएका छन्।
यसबीच आयोगको निर्देशक पदका लागि १२ जना उम्मेदवारले साउन ८ गते अन्तर्वार्ता दिइसके पनि १० दिन बितिसक्दा पनि नियुक्ति प्रक्रिया टुंगोमा पुग्न सकेको छैन।
