• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

व्यक्तिगत स्वार्थ


  •   बुधबार, असार ३१, २०८३ मा प्रकाशित
  • मोहनविक्रम सिंह ##

    Advertisement

    मैले व्यक्तिगत स्वार्थको विषयमा एउटा पुस्तक लेख्ने विचार गरेको छु । त्यो मुख्य रूपले दार्शनिक प्रकारको पुस्तक हुनेछ । सायद त्यो पुस्तक तयार पार्न चार/पाँच वर्ष समय लाग्नेछ । त्यो पुस्तक लेख्न त्यति समय लगाउन मेरो स्वास्थ्य र उमेरले साथ दिनेछ वा छैन ? त्यो भन्न सकिने कुरा होइन । मलाई त्यो भन्दा बढी समयसम्म बाँच्न सक्नेछु भन्ने लाग्दछ तर जीवन र मृत्यु हाम्रो हातमा हुँदैन । त्यही पनि बाचुञ्जेल वा स्वास्थ्यले साथ दिँदासम्म मैले त्यो पुस्तक जति तयार पार्न सक्नेछु, त्यसले पनि त्यो विषयलाई स्पष्ट पार्नका लागि केही न केही मदत गर्नेछ भन्ने मैले विश्वास गरेको छु ।

    अहिले मेरो मोटामोटी सोचाइ त्यो पुस्तकलाई चार भागमा तयार पार्नेछ । प्रथम भागमा व्यक्तिगत स्वार्थसम्बन्धी सामान्य समझदारीमाथि नै प्रकाश हाल्ने प्रयत्न गरिनेछ । दोस्रो भागमा व्यक्तिगत स्वार्थसम्बन्धी दार्शनिक, राजनीतिक, समाजशास्त्रीय, मनोवैज्ञानिक, धार्मिक, नैतिक आदि पक्षमाथि पनि प्रकाश हाल्ने प्रयत्न गरिनेछ । त्यो भागमा विभिन्न साहित्यिक रचनामा प्रकट गरिएका कथानक वा विचारको पनि उल्लेख गर्ने प्रयत्न गरिनेछ । तेस्रो भागमा व्यक्तिगत स्वार्थ सम्बन्धी मान्यतामाथि विस्तृत रूपले चर्चा गर्ने प्रयत्न गरिनेछ । चौथो भागमा निष्कर्ष दिइनेछ ।

    माथि पुस्तकका भागको जुन चर्चा गरिएको छ, तत्कालका लागि त्यो सर्सरी प्रकारको विवरण नै हो । किताब लेख्ने क्रममा भागको विभाजनमा संशोधन वा परिवर्तन पनि हुँदै जान सक्छ । उदाहरणको लागि दोस्रो भाग जुन विषयको उल्लेख गरिएको छ तिनीहरूको विवेचना गर्ने सिलसिलामा त्यो भागको एकभन्दा बढी भागमा पनि विस्तार हुन सक्दछ । विभिन्न भागमा कैयौँ परिच्छेद पनि थपिने सम्भावनालाई अस्वीकार गर्न सकिन्न ।

    प्रस्तुत पुस्तक एउटा व्यक्तिगत कृतिभन्दा पनि बढी सामूहिक कृति हुनेछ वा मैले त्यसलाई सामूहिक रूपले नै तयार पार्ने कोसिस गर्नेछु । त्यसका लागि मैले पार्टीभित्रका साथी, पार्टीबाहिरका राजनीतिक व्यक्तित्व, साहित्यकार, बुद्धिजीवी वा दार्शनिकसित पनि छलफल गर्ने प्रयत्न गर्नेछु । सम्भव भयो भने त्यस सन्दर्भमा विभिन्न छलफल वा अन्तरक्रियाका कार्यक्रम आयोजित गर्ने पनि मेरो प्रयत्न हुनेछ । मैले खालि देशभित्र मात्र होइन, देशबाहिर पनि त्यस प्रकारका सम्भावना खोज्ने प्रयत्न गर्नेछु । त्यसका लागि कहाँ र कुन तरिका अपनाउने त्यो कुरा व्यवहारका दौरानमा नै थाहा हुँदै जानेछ ।

    त्यसको अर्को पक्ष पुस्तकालयसित सम्बन्धित हुनेछ । सर्वप्रथम मैले नेपालका पुस्तकालयमा नै त्यससम्बन्धी सामग्री जुटाउने प्रयत्न गर्नेछु । त्यसपछि मैले भारत वा अन्य देशका पुस्तकालयमा पनि गएर अध्ययन गर्ने प्रयत्न गर्नेछु ।

    मैले आफ्नो पार्टीजीवनमा पार्टीका प्रशिक्षण कार्यक्रम, आफ्ना लेख वा आफ्ना साहित्यिक कृतिमा पनि विश्व दृष्टिकोणबारे बढीभन्दा बढी चर्चा गर्ने वा प्रकाश हाल्ने प्रयत्न गर्दै आएको छु । विश्वदृष्टिकोणको प्रधान पक्ष सर्वहारा विश्वदृष्टिकोण नै हो । त्यसले व्यक्तिगत लाभको कुनै आशा नगरीकन आफूलाई सम्पूर्ण रूपले पार्टी, क्रान्ति र शोषित, पीडित वा मिहिनेतकश जनताको मुक्तिको लागि समर्पण गर्ने कुरामा जोड दिन्छ । त्यो सोचाइले गीताको निष्काम सेवाको सिद्धान्तसित पनि मेल खान्छ । गीताको व्याख्याअनुसार व्यक्तिगत फलको आशा नगरीकन आफ्नो कर्तव्य पूरा गर्नु नै निष्काम सेवा हो । निश्चय नै गीताको त्यो भनाइ अध्यात्मवादी प्रकारको छ र त्यसले आफ्नो कार्यको सम्पूर्ण फल भगवान्मा समर्पित गर्ने कुरामा जोड दिन्छ । हामीले त्यस प्रकारको आध्यात्मिक सोचाइमाथि विश्वास गर्दैनौँ, तैपनि गीताले जुन कुरामा जोड दिएको छ । त्यसको सारतत्त्व व्यक्तिगत रूपमा प्रतिफलको आशा नगरीकन आफ्नो कर्तव्य गर्दै जानु हो ।

    मैले यो चाहन्छु कि यो विषयमा अरू पनि धेरै छलफल गरियोस्, विचार प्रकट गरियोस् वा लेख र पुस्तक तयार पारियोस् । यदि मेरो स्वास्थ्य वा उमेरका कारणले मैले यो पुस्तक तयार पार्न सकिनँ भने पनि अन्य व्यक्तिले त्यससम्बन्धी पुस्तक तयार पारेमा वा त्यसबारे अरू प्रकाश हाल्दै गएमा त्यो स्वागतयोग्य कुरा हुनेछ ।

    व्यक्तिगत स्वार्थ मानवजातिको नै एउटा अत्यन्त गम्भीर विषय हो । अर्को शब्दमा त्यो मानवजातिको नै एउटा ठुलो अभिशाप हो भने पनि अतिशयोक्ति हुने छैन । त्यसले मानव समाजलाई प्राचीन कालदेखि नै धेरै नै नोक्सान पुर्‍याउँदै आएको छ । मानवजातिको प्राचीन कालदेखि अहिलेसम्मको नै इतिहासको मूल्याङ्कन गर्ने हो भने त्यो कुरा दिनको उज्यालो झैँ छर्लङ्ग हुनेछ ।

    व्यक्तिगत स्वार्थको उत्पत्ति व्यक्तिगत सम्पत्तिको उत्पत्तिका साथै सुरु भएको हो भन्न सकिन्छ । त्यसरी मुख्य रूपले त्यो समाजको आर्थिक संरचनाको परिणाम हो । पहिले आदिम समाजमा जसलाई माक्र्सले आदिम साम्यवादी समाज बताएका छन्, त्यो बेला उत्पादन प्रणाली वा जीवनको संरचना पनि सामूहिक प्रकारको थियो र त्यो बेला व्यक्तिगत सम्पत्तिको उत्पत्ति भएको थिएन । त्यसैले त्यो बेला व्यक्तिगत स्वार्थजस्तो कुनै कुरा पनि उत्पन्न भएको थिएन । यद्यपि त्यसको कुनै न कुनै रूपमा अस्तित्व भएको भए पनि त्यो एकदम नगन्य प्रकारको थियो र त्यसले समाजमा कुनै नकारात्मक प्रभाव पार्न सकेको थिएन तर पशुपालन र मुख्य रूपले कृषि युगको प्रारम्भपछि नै व्यक्तिगत सम्पत्तिको उत्पत्ति भयो र त्यसका साथै व्यक्तिगत स्वार्थ वा तेरो र मेरो भन्ने भावना पनि उत्पन्न भयो । त्यस प्रकारको भावनाले नै शोषणलाई पनि जन्म दियो । त्यसको अर्थ हो– अरूको श्रमको शोषण गरेर बढी सम्पत्ति जम्मा गर्ने र बढी सुखी जीवन बिताउने आकाङ्क्षा । त्यस प्रकारको प्रवृत्तिले अरू उच्च र विकृत रूप लिँदै गयो, जसको परिणामस्वरूप समाजमा दास युग, सामन्ती युग, पुँजीवादी युग वा साम्राज्यवाद जस्ता व्यवस्था देखा पर्दै गए । त्यसअनुसार नै धर्म, कानुन, नैतिकता, राज्य र सामाजिक व्यवस्था पनि तयार हुँदै गए ।

    व्यक्तिगत स्वार्थ खालि शोषणको रूपमा मात्र हाम्रा अगाडि आउने गरेको छैन । घरघरमा प्रत्येक परिवार वा अत्यन्त निम्न परिवारमा पनि व्यक्तिगत स्वार्थले यति धेरै जरा हालेको छ कि यसले गर्दा पूरै समाज नै अत्यन्त कष्टमय बन्न पुगेको छ । व्यक्तिगत सम्पत्ति वा व्यक्तिगत स्वार्थअनुसार नै मानिसको मनोविज्ञान वा संस्कृतिको निर्माण हुन्छ र त्यसअनुसार घरघरमा कलह हुने गर्दछन् । समाजमा बाबुछोरा, आमाछोरी, पतिपत्नी, दाजुभाइ, दिदीबहिनी, इष्टमित्र, छरछिमेकी आदिका बिचमा पनि कैयौँ प्रकारका ईष्या, डाह, झगडा, कुटपिट, मुद्दामामिला वा एक वा अर्काको हत्यासम्मका घटना घट्ने गर्दछन् । त्यस सन्दर्भमा राजपरिवारमा गद्दीका लागि चल्ने काण्ड वा राज्यविस्तारका लागि चल्ने युद्धको इतिहासले मानवजातिको इतिहास भरिएको छ र अझ वास्तवमा भन्ने हो भने इतिहासको प्रधान विषय यही नै हुने गरेको छ भने पनि फरक पर्ने छैन । यी केही उदाहरणबाट यो कुरामा कुनै शङ्का रहन्न कि व्यक्तिगत स्वार्थले मानवजातिलाई कति धेरै नोक्सान पुर्‍याएको छ र स्पष्ट शब्दमा भन्ने हो भने त्यसले मानव समाजलाई नरक नै बनाएको छ भने पनि फरक पर्ने छैन । व्यक्तिगत स्वार्थले समाजलाई जुन धेरै क्षति पुर्‍याएको छ, त्यसप्रति प्राचीन कालदेखि नै विद्वान्का धेरै नै ध्यान जाने गरेको छ ।

    त्यस सिलसिलामा संसारका विभिन्न देशमा दर्शन, धर्मशास्त्र, नीतिशास्त्र, समाजशास्त्र, राजनीति विज्ञान आदिसम्बन्धी कैयौँ ग्रन्थ लेख्ने गरिएका छन् । तिनीहरूमा व्यक्तिगत स्वार्थ भन्दामाथि उठेर समाजको हितको लागि काम गर्ने कुरामा धेरै नै जोड दिने गरिएको छ । त्यसका बाबजुद व्यक्तिगत स्वार्थको अधिपत्य कम भएको छैन र त्यो झन्पछि झन् बढ्दै गएको छ ।

    यस सन्दर्भमा माक्र्सवादी–लेनिनवादी दर्शनको देन पनि धेरै महत्त्वपूर्ण रहेको छ । त्यसले यो कुरामा जोड दिएको छ कि अहिलेको समाज व्यवस्थाको मुख्य समस्या व्यक्तिगत सम्पत्ति नै हो । त्यसैले माक्र्सवादी दर्शनले त्यसलाई समाप्त गर्ने कुरामा जोड दिएको छ । व्यक्तिगत सम्पत्तिको अन्त्यपछि व्यक्तिगत स्वार्थको आधार पनि समाप्त हुनेछ । निश्चय नै त्यसका लागि समाज लामो प्रक्रियाका बिचबाट जानुपर्नेछ । माक्र्सले समाजवादपछि साम्यवादी समाजको मार्गचित्र प्रस्तुत गरेका छन् । त्यो समाज प्रकारान्तरले प्राचीन आदिम समाज वा आदिम साम्यवादी समाजको रूपान्तरित, विकसित वा परिमार्जित रूप हुनेछ । त्यहाँ व्यक्तिगत सम्पत्ति समाप्त हुनेछ र त्यसअनुरूप मानिसको चिन्तन प्रणाली पनि रूपान्तरित हुनेछ । त्यो कुरा त्यो बेला समाजको उत्पादन वा आर्थिक प्रणाली मात्र होइन, मानिसको जीवनशैली र चिन्तन प्रणाली पनि सामूहिक प्रकारको हुनेछ । त्यो बेला व्यक्तिगत स्वार्थ पनि मूल रूपमा समाप्त हुनेछ ।

    माक्र्सको त्यो उद्देश्य पूरा गर्न संसारभरि नै कम्युनिस्टले लामो सङ्घर्ष वा त्याग र बलिदान गर्दै आएका छन् । त्यो क्रममा रुस र चीनसहित संसारका कैयौँ देशमा समाजवादी व्यवस्था पनि कायम भए तर समस्या के भयो भने ती देशमा वा त्यहाँका कम्युनिस्ट पार्टी र समाजवादी व्यवस्थामा समेत व्यक्तिगत स्वार्थले प्रवेश गर्‍यो । त्यसको परिणाम के भयो भने ती देशमा कायम भएका समाजवादी व्यवस्था ढल्दै गएर अब संसारमा कुनै देश पनि समाजवादी रहेको छैन । विभिन्न साम्राज्यवादी देशले समाजवादी देशमाथि विभिन्न प्रकारले आक्रमण वा घुसपैठ गर्दै आएका थिए तर समाजवादी देशको पतनका लागि मुख्य रूपमा त्यहाँका कम्युनिस्ट पार्टी नै जिम्मेवार छन्, किनभने उनीहरूको माक्र्सवादी–लेनिनवादी सिद्धान्त वा सर्वहारा विश्व दृष्टिकोणबाट विचलन हुँदै गयो र उनीहरूले सामाजिक हितभन्दा आफ्ना व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिँदै गए । अर्का शब्दमा उनीहरू भ्रष्ट हुँदै गए । त्यसको परिणामस्वरूप नै ती देशमा समाजवादी व्यवस्थाको पतन भयो ।

    प्रश्न समाजवादी देशको मात्र होइन, अन्य देशका कम्युनिस्ट पार्टीमा पनि माक्र्सवादी–लेनिनवादी सिद्धान्तबाट धेरै नै विचलन हुँदै गयो । उनीहरूको मानसिकतामा सर्वहारा स्पिरिटले पार्टी र क्रान्तिको देश र समाजको सेवा गर्नेभन्दा बढी जोड व्यक्तिगत स्वार्थ पूरा गर्नेतिर नै जान थाल्यो । त्यसको परिणाम यो भयो कि संसारभरिका धेरै कम्युनिस्ट पार्टीको पनि पतन हुँदै गयो र आज विश्व कम्युनिस्ट आन्दोलन अत्यन्त कमजोर र रक्षात्मक अवस्थामा पुगेको छ ।

    राजनीति, धर्म, प्रशासन वा सामाजिक सेवाको क्षेत्रमा पनि व्यक्तिगत स्वार्थले धेरै नै जरा हालेको पाइन्छ । राजनीति वा प्रशासनको क्षेत्रमा त्यस प्रकारको प्रवृत्तिले कुन हदसम्म विकृत रूप ग्रहण गरेको छ ? त्यो आम रूपमा थाहा भएको कुरा हो । धर्मको क्षेत्रमा पनि विश्वव्यापी रुपमा नै भ्रष्टाचार वा सार्वजनिक सम्पत्तिको दुरुपयोगका हजारौँ उदाहरण अगाडि आउने गरेका छन् । अयोध्याको राममन्दिरमा हालै प्रकाशमा आएको अर्बौं रुपैयाँको भ्रष्टाचार काण्डले पनि मन्दिरजस्तो पवित्र मानिने स्थानमा पनि व्यक्तिगत स्वार्थ कति धेरै विकृत रुपमा प्रकट हुने गर्दछ ? त्यो कुरामा कुनै शङ्का रहन्न । त्यसरी समग्र रूपमा भन्न सकिन्छ, व्यक्तिगत स्वार्थ मानव जातिको नै एउटा अत्यन्त गम्भीर समस्या हो ।

    संसारलाई बदलेर साम्यवादी समाजको निर्माणको उद्देश्य बोकेर हिँडेका कम्युनिस्टको पनि त्यही कारणले पतन हुँदै गयो । त्यसकारण त्यो समस्यालाई हामीले गम्भीर रूपमा बुझ्ने र त्यसलाई बढीभन्दा बढी हल गरेर सम्पूर्ण मानवजातिको चिन्तनलाई सामाजिक रूप दिन प्रयत्न गर्नुपर्दछ । मेरो पुस्तकको मुख्य उद्देश्य त्यही हुनेछ । त्यसबारे हुने सामूहिक छलफलले त्यो विषयलाई बुझ्न केही न केही मदत गर्‍यो भने त्यो खुसीको कुरा हुनेछ । त्यो पुस्तक कुन रूपमा अगाडि बढ्नेछ ? कसरी पूरा हुनेछ ? भविष्यमा नै थाहा हुने कुरा हो ।

    अन्तमा मैले एउटा अर्को कुराको पनि चर्चा गर्न चाहन्छु । अहिले म ९२ वर्षमा लागँे । अहिलेसम्म मेरो मस्तिष्कले त सामान्यतः राम्रोसित काम गरेको छ तर मेरो आँखाको ज्योति कम भएको छ र अब मैले कुनै पुस्तक, पत्रपत्रिका पढ्न र केही लेख्न पनि सक्दिनँ । कानको श्रवणशक्ति पनि धेरै कमजोर भएको छ । मेरो आवाजको समस्या पनि गम्भीर भएको छ र प्रष्टसित बुझ्ने गरेर मलाई कुनै शब्द उच्चारण गर्न पनि मुस्किल पर्दछ । त्यही पनि मैले त्यो पुस्तक लेख्ने योजना बनाएको छु । त्यसको लागि मलाई अवश्य पनि पढ्न, लेख्न मदत गर्ने सहयोगीको आवश्यकता पर्नेछ । त्यो सम्भव हुने छ वा छैन ? त्यो पनि परिस्थितिमाथि निर्भर गर्नेछ । त्यही पनि त्यो पुस्तकसम्बन्धी अध्ययन वा लेखनसम्बन्धी कार्यलाई अगाडि बढाउन वा पूरा गर्न मैले सम्भव भएजति कोसिस गर्नेछु । त्यसका साथै मेरा मनमा अरू कैयौँ पुस्तक लेख्ने, प्रकाशित गर्ने वा पुराना पुस्तक र लेखलाई व्यवस्थित गरेर प्रकाशित गर्ने पनि सोचाइ छन् तर उमेर, स्वास्थ्य वा साधन र स्रोतका कारणले मैले के कति काम पूरा गर्न सक्नेछु ? त्यो कुरा भविष्यले नै बताउन सक्ने कुरा हो ।

    बुधबार, असार ३१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    मीनराज रानाको सङ्क्षिप्त जीवनी

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.