ललितपुर । वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापन क्षेत्रमा देखिएका चुनौतीबारे सरोकारवालाहरूले गम्भीर चासो व्यक्त गरेका छन्। नेपाल वन प्राविधिक सङ्घ बागमती प्रदेशद्वारा आयोजित गोष्ठीमा सहभागीहरूले वन तथा वातावरणसम्बन्धी नीति, योजना र कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुन नसक्दा समस्या झन् जटिल बन्दै गएको बताएका हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशका वन तथा वातावरण मन्त्री भरत बहादुर के.सीले वन संरक्षण, जैविक विविधता संरक्षण, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, वातावरणीय सन्तुलन र जलाधार व्यवस्थापनमा पर्याप्त ध्यान नदिए नेपालको प्राकृतिक सम्पदा सङ्कटमा पर्न सक्ने चेतावनी दिए। उनले वन क्षेत्रसँग सम्बन्धित नीति तथा योजनाका चुनौती र सम्भावनाबारे सरोकारवालाबीच गहन छलफल गरी निष्कर्षमा पुग्नुपर्ने आवश्यकता औँल्याए।
गोष्ठीमा वन नीति तथा प्रशासनको आगामी दिशा, जलाधार व्यवस्थापन, मानव–वन्यजन्तु द्वन्द्व तथा बाँदर व्यवस्थापन, र दिगो वन व्यवस्थापनसम्बन्धी अन्तरप्रदेशीय सिकाइ अनुभव विषयमा प्यानल छलफल गरिएको थियो। छलफलमा पूर्वसचिव, विज्ञ, मन्त्रालयका अधिकारी, अनुसन्धानकर्ता तथा वन क्षेत्रका सरोकारवालाहरूले सहभागिता जनाएका थिए।
वक्ताहरूले जलवायु परिवर्तनका कारण वन, वन्यजन्तु तथा जलस्रोतमा परेको प्रभावबारे चर्चा गर्दै संरक्षण तथा व्यवस्थापनका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए। साथै वन क्षेत्रको दिगो व्यवस्थापन, समुदायको सहभागिता र वातावरण संरक्षणलाई थप प्रभावकारी बनाउन विभिन्न सुझाव प्रस्तुत गरिएको थियो।
नेपाल वन प्राविधिक सङ्घ बागमती प्रदेशका अध्यक्ष उत्तम चापागाईँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वन तथा वातावरण क्षेत्रका विज्ञ, सरकारी निकायका प्रतिनिधि, संरक्षणकर्मी तथा विभिन्न सरोकारवाला संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रमले वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनका क्षेत्रमा देखिएका समस्या, चुनौती र समाधानका उपायबारे साझा समझदारी विकास गर्न महत्त्वपूर्ण योगदान पुगेको सहभागीहरूले बताएका छन्।