महेश रिजाल, भालुबाङ ।
प्युठानको माण्डवी गाउँपालिका–२ स्थित श्री सुन्नानी आधारभूत माध्यमिक विद्यालयको सतहत्तरौँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमबहादुर अधिकारीको अध्यक्षता तथा संविधानसभा सभासद नारायणप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा २०८३ असार १० गते बुधबार सो कार्यक्रम सम्पन्न भएको हो ।
राष्ट्रगान वाचन तथा सहिदप्रति एक मिनेट मौनधारणसँगै अगाडि बढेको उक्त कार्यक्रममा सभासद अधिकारीले प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्नुभएको थियो ।
सो अवसरमा मन्तव्य राख्दै उहाँले २००६ सालतिरै यो विद्यालयको स्थापना भएर यस क्षेत्रमा शिक्षाको ज्योति छर्ने कार्य भएको स्मरण गर्नुभयो ।
उहाँले भन्नुभयो– ‘हाम्रा प्रात:स्मरणीय पण्डित पुरुषोत्तम शर्मा उपाध्यायले महान् कृति हामीलाई सुम्पिएर उहाँको देहावसान भएको थियो ।’
इतिहास स्मरण गराउँदै तत्कालीन व्यवस्थापिका–संसद्मा प्युठान जिल्लाबाट प्रतिनिधित्व गर्दै उपाध्यायले २०१५ सालमा एक कुशल जनप्रतिनिधिका रूपमा इतिहास रच्न सफल हुनुभएको पनि अधिकारीले बताउनुभयो ।
कार्यक्रममा विशिष्ट अतिथि एवम् जग्गादाता दिवङ्गत पण्डित पुरुषोत्तम शर्मा उपाध्यायका ज्येष्ठ सुपुत्र लालमणि शर्मा, उहाँकी जीवनसँगिनी सुशीला शर्मा, दिवङ्गत पण्डित पुरुषोत्तम शर्मा उपाध्यायका कान्छा छोरा विकास अधिकारी, विशिष्ट अतिथिमा माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारी र वडाअध्यक्ष प्रकाश ओलीको उपस्थिति थियो ।
सो अवसरमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, अक्षयकोषका संस्थापक, वडासचिव, विभिन्न टोल विकास संस्थाका अध्यक्ष, स्थानीय समाजसेवी, बुद्धिजीवी, अभिभावक, शिक्षक एवम् विद्यार्थीको सहभागिता रहेको थियो ।
वार्षिकोत्सवमा विद्यालयका प्राधानाध्यापक भगवता मल्लले शैक्षिक प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।
उक्त अवसरमा तीन जना शिक्षकहरू सम्मानित हुनुभएको थियो । सम्मानित हुनेहरूमा जितबहादुर रोका, मोहन थापा र वमबहादुर रावल हुनुहुन्छ भने खेलकुद शैक्षिक सत्र–२०८२ मा प्रथम, द्वितीय र तृतीय हुने बालविकासदेखि कक्षा १२ सम्मका छात्रछात्रालाई नगदसहित सम्मानपत्रद्वारा पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा विद्यालयका छात्रछात्राले मनोरञ्जनात्मक गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।
समारोहको सञ्चालन शिक्षक जितबहादुर रोकाले गर्नुभएको थियो ।
