सुर्खेत । दैलेखको ठाटीकाँध गाउँपालिकामा कार्यरत ९७ जना शिक्षक तथा कर्मचारीले एक वर्षदेखि पारिश्रमिक नपाएको गुनासो गरेका छन्। गाउँपालिकाको अनुदान कोटामा नियुक्त शिक्षक, कर्मचारी, बालविकास सहजकर्ता र विद्यालय सहयोगीहरू लामो समयदेखि तलबविहीन बनेका हुन्।
पटक–पटक सम्झौता र ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको भन्दै शिक्षकहरूले संघर्ष समिति गठन गरी आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्। गाउँपालिका अनुदान शिक्षक संघर्ष समितिका अनुसार आगामी आर्थिक वर्षको बजेटमा समेत पारिश्रमिक व्यवस्थापनको संकेत नदेखिएपछि विद्यालय बन्ददेखि तालाबन्दीसम्मका कार्यक्रम तय गरिएको हो।
शिक्षकहरूले तलब नपाउँदा दैनिक जीवनयापन कठिन भएको बताएका छन्। उनीहरूका अनुसार गाउँपालिकाले पुराना शिक्षकको पारिश्रमिक नदिई नयाँ नियुक्ति गरिरहेको छ, जसलाई गैरजिम्मेवार कदमका रूपमा हेरिएको छ।
यद्यपि गाउँपालिका अध्यक्ष रक्षबहादुर शाही यस विषयमा सकारात्मक देखिए पनि कर्मचारी तथा केही जनप्रतिनिधिको असहयोगका कारण समस्या समाधान हुन नसकेको शिक्षकहरूको आरोप छ।
