संस्थाका अनुसार पाँचथर, धनकुटा, ओखलढुंगा, सोलुखुम्बु, सिराहा, महोत्तरी, काठमाडौं, धादिङ, गोरखा, मनाङ, कास्की, पाल्पा, गुल्मी, कपिलवस्तु, पूर्वी रुकुम, दैलेख, कालिकोट तथा दार्चुला जिल्लाका गरिब, जेहेन्दार तथा आवश्यकता भएका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिनेछ।
कार्यक्रमअन्तर्गत गुरुकुल, गुम्बा तथा विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई झोला, कापी, कलम, अङ्ग्रेजी बोलचाल पुस्तक, प्रज्ञा वृहत् नेपाली शब्दकोश, क्यापलगायतका सामग्री उपलब्ध गराइने संस्थाले जनाएको छ।
वि.सं. २०७५ फागुन १५ गते चितवनमा स्थापना भएको सेवा र विकासका लागि युवा एक सामाजिक तथा सेवामूलक संस्था हो। संस्थाले शिक्षा, स्वास्थ्य, सामाजिक सेवा तथा विपद् व्यवस्थापनका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।
संस्थाका अनुसार हालसम्म देशका करिब ५० जिल्लामा शैक्षिक सामग्री वितरण, छात्रवृत्ति सहयोग, विपद्का समयमा राहत तथा उद्धार कार्य, विद्यालय भवन निर्माण, कपडा बैंक सञ्चालन, सरसफाइ अभियान तथा विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गरिसकिएको छ।
पत्रकार सम्मेलनमा बोल्दै संस्थाका केन्द्रीय अध्यक्ष डा. देवेन्द्र कण्डेलले विद्यार्थी राष्ट्रका वर्तमान र भविष्य भएकाले उनीहरूको शैक्षिक विकासमा सहयोग पुर्याउनु सबैको साझा दायित्व भएको बताउनुभयो। उहाँले दुर्गम तथा आवश्यकता भएका क्षेत्रका विद्यार्थीलाई लक्षित गरी कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो।
संस्थाका अनुसार वितरण गरिने शैक्षिक सामग्री मित्रराष्ट्र भारतको सहयोगमा प्राप्त भएको हो। भारतले नेपालको शिक्षा क्षेत्रमा छात्रवृत्ति, विद्यालय तथा क्याम्पस भवन निर्माण, पुस्तकालय स्थापना, छात्रावास निर्माण तथा विद्यालय बस उपलब्ध गराउनेलगायत विविध क्षेत्रमा सहयोग गर्दै आएको छ।
उक्त सहयोगका लागि सेवा र विकासका लागि युवा संस्थाले भारत सरकार तथा सम्बन्धित निकायप्रति आभार व्यक्त गरेको छ।
संस्थाले कार्यक्रमलाई सफल बनाउन सञ्चारमाध्यम, शिक्षाप्रेमी, सामाजिक सङ्घसंस्था तथा सरोकारवाला सबै पक्षसँग सहयोग, सहकार्य र समन्वयको अपेक्षा गरेको जनाएको छ।