केरसिंह अदै, तौलिहवा ।
रक्तिम सांस्कृतिक अभियान कपिलवस्तुको पाँचौँ जिल्ला भेला सम्पन्न भएको छ ।
केन्द्रीय अध्यक्ष गिरीप्रसाद बुढाको प्रमुख आतिथ्यमा २०८२ चैत १४ गते शनिबार शिवराज नगरपालिकाको खरेन्द्रपुरमा सो कार्यक्रम सम्पन्न भएको हो ।
भेलालाई सम्बोधन गर्दै अध्यक्ष बुढाले रक्तिमको सदस्य बन्नु भनेको समाज बदल्नु हो र आफू बदलिनु हो भन्दै यो जीवनलाई सही दिशा दिने र समाजप्रति उत्तरदायित्वबोध गराउन कलाको माध्यमबाट रक्तिमले शिक्षा प्रदान गर्दै आएको दाबी गर्नुभयो ।
भेलामा रक्तिमका केन्द्रीय सदस्य मनबहादुर नेपाली, राष्ट्रिय जनमोर्चा कपिलवस्तुका सचिव केरसिंह अदै, राजमो जिल्ला कोषाध्यक्ष तथा शिवराज नगर समिति अध्यक्ष केहरसिंह पुनमगर र अखिल (छैठौं) की जिल्लाअध्यक्ष टिना अदैले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
भेलाले बेगम बुढामगर अध्यक्ष रहनुभएको ११ सदस्यीय रक्तिमको कपिलवस्तु जिल्ला समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा भक्तबहादुर थापा, सचिवमा अमर थापा, सहसचिवमा सुस्मिता विक र कोषाध्यक्षमा कल्पना भट्टराई रहनुभएको छ ।
त्यस्तै सदस्यमा पूजा पोख्रेल, राजु विक, रेखा आचार्य, आकाश थारू, सुहानी जैसी र बिहान अदै रहनुभएको छ ।
भेलाले मनबहादुर नेपाली, टिना अदै, राजु गैरे, सुमित्रा परिवार र सुशीला खनाललाई सल्लाहकारमा चयन गरेको छ ।
बेगम बुढाको अध्यक्षतामा अघि बढेको उक्त भेलाको सञ्चालन सुस्मिता विकले र स्वागत कल्पना भट्टराईले गर्नु भएको थियो ।
रक्तिमले गीतद्वारा स्वागत गरेको उक्त भेलापछि बसेको बैठकले नगर भेला, बैठक र नगरस्तरीय प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरिएको नवनिर्वाचित अध्यक्ष बेगम बुढामगरले जानकारी दिनुभयो ।
