ढाका । बङ्गलादेशका पूर्वप्रधानमन्त्री शेख वाजेद हसिना विरुद्ध अदालतमा मुद्दा चलाइने भएको छ ।
उहाँको निर्देशनमा प्रहरीद्वारा भएको लापर्बाहीपूर्ण कारबाही र प्रदर्शनकारीको हत्यामा संलग्नताको आरोपमा मानवता विरुद्ध अपराधको अभियोगमा आइतबारबाट सुनुवाइ सुरु हुन थालेको हो ।
‘अभियोजन टोलीले पूर्व प्रधानमन्त्री हसिना विरुद्ध आइतबार अभियोगपत्र दायर गर्ने तयारी गरेको छ’ अभियोजनकर्तामध्येका एक गाजी एमएच तमिमले भन्नुभयो ।
संयुक्त राष्ट्र सङ्घका अनुसार सन् २०२४ को जुलाईदेखि अगस्टसम्म हसिनाको सरकारले प्रदर्शनकारीलाई दबाउने निर्मम अभियान चलाउँदा एक हजार ४०० जनाको मृत्यु भएको थियो ।
घरेलु अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण (आई.सी.टी.) ले हसिनाको अपदस्थ सरकार र उहाँको प्रतिबन्धित अवामी लिग पार्टीसँग सम्बन्धित पूर्व वरिष्ठ व्यक्ति विरुद्ध मुद्दा चलाइरहेको छ ।
तत्कालीन हसिना सरकारका वरिष्ठ व्यक्तिमाथि मुद्दा चलाउनु अहिले सत्ताका लागि होडबाजी गरिरहेका थुप्रै राजनीतिक दलको प्रमुख माग बताइएको छ ।
बङ्गादेशमा अन्तरिम सरकारले सन् २०२६ को जुनअगावै निर्वाचन गर्ने प्रतिबद्धता जनाएको छ ।
सरकारी स्वामित्वको बङ्गलादेश टेलिभिजनबाट उक्त मुद्दाको सुनुवाइको प्रत्यक्ष प्रसारण गर्ने अपेक्षा गरिएको छ ।
अभियोजकले गत महिना हसिना विरुद्धको मुद्दामा आफ्नो प्रतिवेदन पेस गरेका थिए र अदालतले आइतबार औपचारिक आरोप जारी गरेर कार्यवाही सुरु गर्ने अपेक्षा गरेको छ ।
आई.सी.टी. का मुख्य अभियोजक ताजुल इस्लामले मे १२ मा हसिनामाथि दुरुत्साहन, उक्साहट, संलग्नता, सूत्रधार र जुलाई विद्रोहको क्रममा सामूहिक हत्या रोक्न असफल भएको गरी कम्तीमा पाँचओटा आरोप लगाइएको बताइएको छ ।
अनुसन्धानकर्ताले भिडियो फुटेज, अडियो क्लिप, हसिनाको फोन वार्तालाप, हेलिकप्टर र ड्रोन गतिविधिको रेकर्ड, साथै उनीहरूको अनुसन्धानको भागको रूपमा दमनका पीडितका बयान सङ्कलन गरेका छन् । (रासस/एएफपी)