गाजा । गाजामा सोमबार भएको इजरायली हवाई आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । सेनाले आक्रमण तीव्र पारेको गाजाका उद्धारकर्ताले बताएका छन् ।
गाजाका नागरिक सुरक्षा निकायका प्रवक्ता महमुद बस्सलले गाजाको मुख्य सहर र वरपर निरन्तर आक्रमण भएको र खान युनिसमा ११ जनाको मृत्यु हुनुका साथै धेरै घाइते भएको बताउनुभयो ।
जबलिया सहरको पश्चिममा रहेको बजारनजिकै भएको हवाई आक्रमणमा पाँच जनाको मृत्यु भएको उहाँले बताउनुभयो ।
मध्यगाजाको नुसेइराटस्थित पसलमा भएको हवाई आक्रमणमा एउटै परिवारका तीन जनाको मृत्यु भएको र उत्तरी गाजा सहरको एउटा पसलमा भएको अर्को आक्रमणमा दुई जनाको मृत्यु भएको जनाइएको छ ।
बेइत लाहियाको अस्पतालमा पनि मृत्युको खबर आएको तर निरन्तर भएको बम विष्फोटका कारण शव उद्धार हुन नसकेको बासलले बताउनुभएको छ ।
हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले इजरायली सेनालाई घेराबन्दी गरेको आरोप लगाउदै अस्पताललाई सेवा प्रवाहमा असर पारी सेवा ठप्प पार्न बाध्य पारेको जनाइएको छ ।
इजरायली सेनाले सोमबार आफ्नो पछिल्लो तीव्र अभियान सम्पूर्ण गाजापट्टीमा सञ्चालन गरिरहेको बताएको छ । (रासस/एएफपी)